दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो; जसमा सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गरिएको छ । दिगो विकासमा १७ लक्ष्य तथा १६९ सहायक लक्ष्य समावेश गरिएका छन् । जुन संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्र सम्मिलित सेप्टेम्बर २०१५ को ऐतिहासिक राष्ट्रसङ्घीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर १ जनवरी, २०१६ देखि लागु गरेको थियो । विश्वभरका राष्ट्रिय सरकारहरू तथा लाखौँ नागरिकलाई एउटै थलोमा ल्याई यी महìवाकाङ्क्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यी दिगो विकास लक्ष्यहरू तय गरिएका हुन् ।
विकासका अवसरबाट कुनै पनि व्यक्ति वा समुदाय वञ्चितीकरणमा नपरून् भन्ने दिगो विकास लक्ष्य २०३० को आधारभूत सिद्धान्त रहेको छ । दिगो विकासबारे सबैमा जानकारी दिन तथा लक्ष्य अनुरूप हुँदै गरेका कार्यक्रमको समीक्षा गर्ने उद्देश्यले हरेक सेप्टेम्बर १६ देखि २५ सम्म विश्वभरि नै १० दिन लामो अभियान सञ्चालन गर्ने गरिन्छ । नेपालमा पनि यो अभियान हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । यसै अन्तर्गत सम्बन्धित निकायहरूले विभिन्न कार्यक्रम गर्दै नेपालमा यो अभियान चलाइरहेका छन् । यो वर्ष सेप्टेम्बर १५–२५ मा संयुक्त राष्ट्रसङ्घका सम्पूर्ण सदस्य राष्ट्र दिगो विकास लक्ष्यको आठौँ वार्षिकोत्सव मनाइरहेका छन् ।
दिगो विकास लक्ष्यमा पाँच स्तम्भ रहेका छन् । जसमा १) पृथ्वी, २) मानव, ३) समृद्धि, ४) शान्ति र ५) साझेदारी रहेका छन् । पहिलो स्तम्भले पृथ्वीमा रहेका प्राकृतिक साधनस्रोत र वातावरण भावी पुस्ताका लागि संरक्षण गर्ने कुरा उल्लेख गरेको छ । दोस्रो स्तम्भले सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गर्ने र मर्यादा एवं समानता कायम गर्ने कुरा उल्लेख गरेको छ । तेस्रो स्तम्भमा प्रकृतिसँग सामञ्जस्यता कायम गर्दै समृद्ध र सम्मुन्नत जीवनको सुनिश्चितता गर्ने कुरा उल्लेख गरिएको छ । चौथो स्तम्भमा शान्तिपूर्ण, न्यायसङ्गत र समावेशी समाज निर्माण गर्ने र पाँचौँ स्तम्भमा सशक्त विश्वव्यापी साझेदारीद्वारा दिगो विकासका एजेन्डाको कार्यान्वयन गर्ने कुरा उल्लेख गरिएको छ ।
दिगो विकासका सत्र लक्ष्यमध्ये लक्ष्य नं. १ मा सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य राखिएको छ । लक्ष्य नं. २ मा भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दिगो कृषिको प्रवर्धन गर्ने लक्ष्य समावेश छ । लक्ष्य नं. ३ मा सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्धन गर्ने लक्ष्य रहेको छ । लक्ष्य नं. ४ मा सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसर प्रवर्धन गर्ने लक्ष्य रहेको छ ।
यस्तै लक्ष्य नं. ५ मा लैङ्गिक समानता हासिल गर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने लक्ष्य रहेको छ । लक्ष्य नं. ६ मा सबैका लागि स्वच्छ पानी र सरसफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने लक्ष्य छ । लक्ष्य नं. ७ मा सबैका लागि किफायती, विश्वसनीय, दिगो र आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गर्ने लक्ष्य समावेश छ । लक्ष्य नं. ८ मा भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमूलक रोजगारी र मर्यादित कामको प्रवर्धन गर्ने लक्ष्य रहेको छ । लक्ष्य नं. ९ मा उत्थानशील पूर्वाधारको निर्माण, समावेशी र दिगो औद्योगीकरणको प्रवर्धन र नवीन खोजलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको छ ।
यसै गरी लक्ष्य नं. १० मा मुलुकभित्र तथा मुलुकबिचको असमानता घटाउने लक्ष्य रहेको छ । लक्ष्य नं. ११ मा सहर तथा मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दिगो बनाउने लक्ष्य रहेको छ । लक्ष्य नं. १२ मा दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने लक्ष्य समावेश छ । लक्ष्य नं. १३ मा जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने लक्ष्य रहेको छ । लक्ष्य नं. १४ मा दिगो विकासका लागि महासागर, समुद्र र समुद्री साधनस्रोतको दिगो प्रयोग तथा संरक्षण गर्ने लक्ष्य रहेको छ ।
लक्ष्य नं. १५ मा स्थलीय पर्यावरणको संरक्षण, पुनस्र्थापना र दिगो उपयोगको प्रवर्धन गर्ने, वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमीकरण र भूक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गर्ने लक्ष्य समावेश गरिएको छ । लक्ष्य नं. १६ मा दिगो विकासका लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने लक्ष्य रहेको छ भने लक्ष्य नं. १७ मा दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोतसाधन सुदृढ गर्ने लक्ष्य छ ।
दिगो विकासका सबै लक्ष्य विश्वका सम्पूर्ण मानवजनको हितका लागि भएको हुँदा सबैका लागि लक्षित छन् । जसमध्ये १५ वटा लक्ष्यमा ज्येष्ठ नागरिकका सवाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपले समावेश भएका छन् । विश्व जनसङ्ख्याको एउटा महत्त्वपूर्ण हिस्सा ओगटेको ज्येष्ठ नागरिकको सङ्ख्याले करिब १३ प्रतिशत स्थान ओगटेको छ । यहाँ नेर सबैले बुझ्नुपर्ने कुरा के हो भने ज्येष्ठ नागरिकलाई नसमेटिकन गरिने विकासका काम त्यति सापेक्षित हुँदैनन् । किनभने ज्येष्ठ नागरिकसँग विभिन्न काम गर्ने तरिका, त्यसका सकारात्मक नकारात्मक प्रभाव र असरको नजिकैबाट नियालेको अनुभव रहेको हुन्छ ।
देशको सामाजिक, आर्थिक, सांस्कृतिक तथा अन्य पक्षको विकाससँगै दिगो विकास लक्ष्य प्राप्तिका लागि बनाइने नीति, नियम तथा कार्यक्रम ज्येष्ठ नागरिकमैत्री भएमा ज्येष्ठ नागरिकमा भएको ज्ञान, सिप र अनुभवको उपयोग गरी दिगो विकासलाई बढावा दिन सकिन्छ । नेपालको सन्दर्भमा कुल जनसङ्ख्याको १०.२१ प्रतिशत सङ्ख्या वृद्ध व्यक्तिको (ज्येष्ठ नागरिक) रहेको छ । यो सङ्ख्या सन् २०५० सम्ममा २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो २१ औँ शताब्दीलाई ज्येष्ठ नागरिकको शताब्दी पनि भनिन्छ । त्यसैले दिगो विकासका हरेक लक्ष्य प्राप्तिका लागि ज्येष्ठ नागरिकको समान सहभागिता अपरिहार्य हुन्छ ।
नेपाल सरकारले हरेक वर्ष प्रत्येक लक्ष्य अनुरूप बजेट विनियोजन पनि गरेको हुन्छ तर लक्ष्य प्राप्तिको आदि समय घर्किसक्दा पनि सोचे अनुरूपको काम भने हुन सकेको छैन । अझै ज्येष्ठ नागरिकको विषयमा हेर्ने हो भने नेपालमा कुनै पनि लक्ष्य वा सहायक लक्ष्यमा प्रत्यक्ष रूपमा समावेश गरिएको छैन । दिगो विकासका सत्र लक्ष्यमध्येमा पन्ध्र लक्ष्य प्रत्यक्ष ज्येष्ठ नागरिकसँग सम्बन्धित छन् । सम्बन्धित निकाय तथा सरोकारवालाले प्रत्यक्ष सम्बन्धित लक्ष्यमा आवश्यक नीति तथा कार्यक्रम बनाएर ज्येष्ठ नागरिक तथा उनीहरूका मुद्दाहरूलाई समावेश गरेमा राज्य र ज्येष्ठ नागरिक दुवैलाई फाइदा पुग्छ । सक्रिय र अवकाशप्राप्त ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभव प्रयोग गरेर दिगो विकासलाई निरन्तरता दिन सकिन्छ ।
उमेरले सक्रिय र अवकाशप्राप्त ज्येष्ठ नागरिकलाई यस्तो क्रियाकलापमा लगाउँदा पर्याप्त समय दिन सक्छन् । यसबाट सक्रिय बुढ्यौलीको विकास पनि हुन्छ । ज्येष्ठ नागरिकलाई पनि आफ्नो उत्तरार्धमा देश र समाजका लागि केही योगदान दिन सकेको खण्डमा गर्व गर्न आधार निर्माण हुने छन् । त्यसैले दिगो विकासका सबै लक्ष्य प्राप्त गर्न ज्येष्ठ नागरिकको सहभागिता र सक्रियता महत्वपूर्ण रहन्छ । ज्येष्ठ नागरिक भनेको हामीले दिने र संरक्षण गर्ने समूह मात्र होइन, यो ज्ञान, सिप र अनुभवको ठुलो भण्डार पनि हो तर ती ज्ञान, सिप र अनुभव कसरी लिने, कहाँ उपयोग गर्ने र कसरी फाइदा लिने भन्ने कुराको योजना बनाएर काम गर्न जरुरी छ ।