रामेछाप समाचारदाता
रामेछाप, भदौ ३१ गते । रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँ, बाहुनचुरास्थित अग्लो पहाडको टुप्पोमा थानापति महादेवको मन्दिर छ। यो मन्दिर रामेछाप जिल्लाकै महत्वपूर्ण धार्मिक स्थल हो।
यो भेगमा पशुपतिनाथका रूपमा पुजिने थानापति महादेवको मन्दिर रामेछाप जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो। थानापति मन्दिर विकास समितिका अध्यक्ष राजकुमार बोहराले यहाँ प्रत्येक वर्षको हरितालिका तिज, ठुली एकादशी र महाशिवरात्रि जस्ता पर्वमा भक्तजनको घुइँचो लाग्ने गरेको बताउनुभयो। उहाँका अनुसार यी पर्वमा रामेछापलगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखासहित काठमाडौँ जिल्लाबाट दर्शनार्थी आउने गरेका छन्।
उहाँले भन्नुभयो, “पछिल्लो समय मन्दिर आउने भक्तजन बढेका छन्। अहिले विशेष चाडपर्वमा मात्रै होइन दैनिक दर्शनका लागि आउने भक्तजन पनि बढेका छन्।” उहाँका अनुसार गत वर्ष १० हजारभन्दा बढी भक्तजनले मन्दिर दर्शन गरेका छन्।
स्थानीयका अनुसार तीन सय वर्षभन्दा पनि पुरानो थानापति महादेव मन्दिरमा गई पूजा आराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको वर पाइने विश्वास छ। बहिरा तथा बुढा महादेवको नामले परिचित यस महादेव मन्दिरमा वर माग्दा ठुलो स्वरले माग्नुपर्ने जनविश्वास छ।
दर्शनका लागि मन्दिर पुगेका मन्थली नगरपालिका–९ का राज श्रेष्ठले बस्तु थारो बस्दा ब्याओस् भनेर तथा सन्तान नहुनेले सन्तान प्राप्तिको कामना गर्दै वर माग्ने चलन रहेको बताउनुभयो। यो महादेवको मन्दिरमा बस्तुको दाम्लो चढाएर त्यही दाम्लोले महादेवस्थान परिसरको ढुङ्गा डो¥याएर घरमा ल्याउँदा बस्तुभाउ फस्टाउने विश्वास छ।
मन्दिरको फेदीबाट मन्दिरसम्म जान आकर्षक सिँढी निर्माण गरिएको छ। सिँढी चढ्ने क्रममा देखिने मनोरम दृश्यले जो कोहीको मन लोभ्याउँछ। सदरमुकाम मन्थलीबाट चिसापानी र मन्थली नगरपालिका–१०, चनखु हुँदै जाने सडक प्रयोग गरेर थानापति महादेव मन्दिर पुग्न सकिन्छ। सडक सञ्जालका कारण विशेष पर्वमा मात्रै नभई दैनिक रूपमा यो मन्दिर दर्शन गर्ने र घुम्नका लागि आउनेको सङ्ख्या बढेको मन्थली नगरपालिका–९ का वडाध्यक्ष गोकर्णराज आरणले बताउनुभयो।
महादेवको दर्शनसँगै पहाडका नागबेली दृश्यावलोकन गर्न पाइन्छ। रामेछाप जिल्लाकै ऐतिहासिक धार्मिकस्थल थानापति महादेव मन्दिर विकासका लागि मन्थली नगरपालिकाले बनाएको गुरुयोजना अनुसारका काम गर्न यो वर्ष १५ लाख रुपियाँ विनियोजन गरिएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताउनुभयो।