• ७ जेठ २०८१, सोमबार

चौदण्डीगढीमा सबस्टेसन बन्ने

blog

गाईघाट समाचारदाता

गाईघाट, भदौ ३१ गते । जग्गा विवाद समाधान भएसँगै उदयपुरको चौदण्डीगढीमा विद्युत् सबस्टेसन निर्माण हुने निश्चित भएको छ । लामो समयदेखि जग्गा प्राप्तिको विवादले विद्युत् विस्तारका लागि सबस्टेसन निर्माणको काममा अवरोध हुँदै आएको थियो । 

जग्गाको खिचलो चलिरहँदा चौदण्डीगढीमा निर्माण हुने विद्युत् सबस्टेसन अन्यत्र जाने हो कि भन्ने चिन्ता व्याप्त भइरहेका बेला चौदण्डीगढी नगरपालिका–३, वीरेन्द्र चोकनजिक विद्युत् सबस्टेसन बन्ने निश्चित भएको नगरप्रमुख कालुमान लामाले बताउनुभयो । उदयपुर जिल्लाको एउटा प्रमुख व्यापारिक केन्द्र बेल्टारमा नभएर सो क्षेत्रका अन्य रामपुर, हडिया, सिवाही, सुन्दरपुर, तपेश्वरीलगायतका बजार क्षेत्रमा उद्योेग, कलकारखाना र नयाँ पसलहरू खुल्ने व्रmम जारी रहेको तर विद्युत्को समस्याका कारण उद्योगी व्यवसायीहरू निराश हुँदै आएकोमा अब भने उत्साहित बनेको स्थानीयवासीको भनाइ छ ।

स्थानीय कुमार विश्वकर्मा र दिलमाया राईको नाममा रहेको फरक फरक कित्ता नं को १६ कट्ठा जग्गा विद्युत् सबस्टेसन निर्माणका लागि स्थायी रूपले उपभोग गर्न जग्गा प्राप्ति ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय उदयपुरले आह्वान गरेको सूचनामा राईका छोरा प्रेम राइले मुआब्जा रकममा चित्त नबुझेको भन्दै निवेदन हालेपछि सुरु भएको विवाद लामो समयपछि बिहीबार अन्त्य भएको हो । स्थानीय चलन चल्तीमा प्रतिकट््ठा ३० लाख रुपियाँ पर्ने जग्गा सरकारी मुआब्जा रकम १५ लाख ६१ हजार रुपियाँ प्रतिकट्ठामा दिन आफू राजी नभएको भन्दै पुनरवलोकनका लागि प्रेम राईले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको थियो । त्यसपछि सुरु भएको जग्गा विवाद नगरप्रमुख लामाको पहलमा सबै पक्ष बसेर समस्या सामाधन गर्ने निर्णय भएको छ ।