• ११ मंसिर २०८१, मङ्गलबार

पोखरामा ‘अन्तर’को चर्चा

blog

रमेश पौडेल 

पोखरा, भदौ ३० गते। पोखरामा शनिबार र्‍यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरेको हो।

उपन्यासको चर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महत्वपूर्ण कृति भएको दाबी गर्दै सामाजिक विभेद तथा यौनिक अल्पसङ्ख्यकहरूका बारेमा जान्न चाहनेले यो कृति पढ्नैपर्ने बताउनुभयो। सायनले अन्तरमार्फत् निकै संवेदनशील विषयलाई उठान गरी विभेद र अपमानको पीडामा परेका वा पर्छु भनेर डराएकाको अस्तित्वको स्वीकार्यताका लागि आवाज बुलन्द बनाएको उल्लेख गर्नुभयो। 

मुद्दा र कला दुवैका दृष्टिकोणले ‘अन्तर’को सम्पूर्ण अन्तरकुन्तर सुन्दर रहेको कार्कीको भनाइ थियो। उपन्यासले समलिङ्गीले भोग्नुपर्ने अप्ठ्यारा र गर्नुपर्ने सङ्घर्षलाई देखाएको छ। समाजको मनस्थिति नै समस्या हो भन्ने निष्कर्ष उपन्यासमा रहेको उहाँले बताउनुभयो। 

उपन्यासकार सायनले आफ्नै घरमा छोरा र छोरीका बिचमा देखेको विभेदबाट प्रभावित भएर फरक विषयमा कृति लेख्ने प्रेरणा पाएको सुनाउनुभयो। 

कतिपय बौद्धिक वर्गका मानिसले नै समङ्गिी हुनुलाई प्राकृतिक कुरा नभई मानसिक समस्याका रूपमा लिनु जटिल समस्या भएको बताउनुभयो। पाठकहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले सरल शैलीमा फरक लैङ्गिक विशेषता भएको वर्गको कथा लेखेको बताउनुभयो। यसअघि भागेर भूगोलभरि (कविता सङ्ग्रह) र छुटेका अनुहार (निबन्ध सङ्ग्रह) प्रकाशन गरिसकेका सायनको तेस्रो कृति ‘अन्तर’ बुक हिल प्रकाशनले केही समयअघि बजारमा ल्याएको थियो।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक गनेस पौडेलले र्यान्डमको मञ्चले लेखकलाई अझै खारिने अवसर प्रदान गर्दै आएको सुनाउनु भयो। फरक यौनिक अल्पसङ्ख्यकका विषयमा लेखिएको भए पनि सबैलाई छुने सामथ्र्य ‘अन्तर’मा आफूले पाएको पौडेलले बताउनुभयो।

लैङ्गिक अल्पसङ्ख्यक अगुवा रजनी थकालीले आम प्रचलनमा आएका रचना र चलचित्रहरूमा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई हाँसोको पात्र बनाइने गरेकोमा दुःख व्यक्त गर्नुभयो। तेस्रो लिङ्गीको अवस्थामा क्रमशः परिवर्तन भएको अवस्था ‘अन्तर’मा देखाइएकोमा उहाँले धन्यवाद दिनुभयो।