• ११ मंसिर २०८१, मङ्गलबार

मादल बिक्न छाडेपछि पेसा सङ्कटमा

blog

मादल बनाउँदै ६५ बर्षीय जुठे बादी । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, भदौ ३० गते । दाङको घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे बादीलाई विगतका वर्षहरूमा तीजको समयमा नयाँ मादल बनाउन र पुराना मादल बनाउन भ्याइनभ्याई हुन्थ्यो । 

गाउँदेखि सहरसम्म तीजमा नाचगानसँगै सांस्कृतिक कार्यक्रमका लागि आवश्यक पर्ने मादल किन्नका लागि मानिसहरू आउने हुँदा उहाँको दैनिकी मादल बनाएर  बित्नेगरेको थियो । 

यो वर्ष हरितालिका तीज नजिकै आइपुग्दा पनि मादल बिक्री हुन नसकेको उहाँको भनाइ छ । केही वर्षअघिसम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने जुठे बादीले भन्नुभयो, “प्रविधिको विकाससँगै पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ ।” 

उहाँका अनुसार यो वर्ष ६–७ वटा मात्रै मादल बिक्री भएको बताउनुभयो । साढे चार दशक बढी समय मादल बनाउने र बिक्री गर्ने पेसा अङ्गाल्दै आउनुभएका उहाँले मादल र बाँसुरी बनाउने पेसा सङ्कटमा पर्न थालेको बताउनुभयो ।  

करिब १० देखि १२ वर्ष अघिसम्म तीज, दसैँ र तिहारलगायतका चाडपर्वमा ग्राहकलाई मादल पुगाउन धौ–धौ पर्ने र चाडपर्वको समयमै मादल बिक्री गरेर लाखसम्म आम्दानी गर्ने गरे पनि अहिले वर्षभरि बिक्री गर्दा पनि ५०–६० हजार नपुग्ने गरेको उहाँले बताउनुभयो । 

पछिल्लो समय प्रविधिको विकाससँगै हातहातमा मोबाइल आएको र मादल पनि सस्तोमा भारतबाट भित्रिन थालेपछि आफूहरूको मादल तथा बाँसुरी बनाउने पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको बताउनुभयो ।  


उहाँले भन्नुभयो, ‘अहिले त सबैका हातमा मोबाइल छन् । त्यसैबाट गीत बजाउन सकिने भएपछि तीजमा मादलभन्दा डेग खोजेर त्यसैमा नाच्न थालेका छन् । जसले गर्दा मौलिक बाजा बजाएर रमाइलो गर्ने परम्परासँगै हाम्रो पेसा समेत सङ्कटमा परेको छ ।’ 

गाउँघरमा जम्मा भएर नाचगान गर्नेभन्दा पनि पछिल्लो समय होटलका कोठाहरू डेगबाटै गीत बजाएर नाच्ने संस्कारको विकासले मौलिक कला संस्कृतिसँगै मादल, बाँसुरी बनाउने पेसा सङ्कटमा परेको उहाँ बताउनुभयो ।  

उहाँकाजस्तै दुखेसो छ स्वर्गद्वारी टोलकै ५० वर्षीय रामप्रसाद बादीको पनि । कुनै समय मादल बनाएर बिक्री गरेर पाँच जनाको परिवार पाल्ने गर्नुभएका रामप्रसादले पछिल्लो समय घर बनाउने मिस्त्रीको काम गर्न थालेको बताउनुभयो । प्रविधिको विकाससँगै जातीय र सांस्कृतिक पेसाका रूपमा रहेको मादल बनाउने पेसा नै लोप हुनेक्रममा पुगेपछि परिवार पाल्नकै लागि विगत ५–६ वर्षदेखि मादल बनाउनेसँगै फुर्सदको समयमा घर बनाउने काम गर्दैआएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहिले मादल बनाउँदै बिक्री गरेर परिवार पाल्न सकिन्थ्यो । अरू काम गर्नु पर्दैनथ्यो, वर्षभरि नै मादल बनाउने काम हुन्थ्यो । अहिले मादलको बिक्री घटेको छ । चाडपर्वको समयमा मात्रै बनाउने गरेको छु ।’   

चाडपर्वसँगै सांस्कृतिक कार्यक्रममा मौलिक बाजाभन्दा बढी प्रविधिमा आधारित साउण्डस्टिम (डेग), हातहातमा मोबाइलसँगै सस्तोमा भारतबाट मादलहरू भित्रिन थालेपछि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर बनाइने मादलहरू बिक्री हुन छाडेको उहाँको भनाइ छ ।  

पहिले तीज, दसैँ, तिहारलगायतका चाडपर्वहरू आउँदा मादल बनाउन गाउँमै बोलाउनेदेखि मर्मतका लागि घरमै आउने गरे पनि पछिल्लो समय छिटफुटका रूपमा मादल किन्न तथा बिग्रिएका मादल बनाउन आउनेगरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘मादल बनाउन आउने लगभग हराइसकेका छन्, कोही कोही नयाँ मादल किन्न आउनुहुन्छ । मादल बनाएर मात्र जीवन गुजरा चलाउन अब गाह्रो छ ।’

मादल बनाएर मात्र जीवन गुजरा चलाउन अब गाह्रो छ ।

मादल बिक्री नहुने समस्यासँगै मादल बनाउन आवश्यक पर्ने कच्चा पदार्थ  खमारीको काठ, खरीलगायतका सामग्री पाउन समेत समस्या हुनेगरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जङ्गलमा गएर काठ ल्याउन पाइँदैन, काष्ठ उद्योगमा सम्पर्क गरेर ल्याउने हो । तै पनि राम्रो हुँदैन ।’ 

आधुनिकतामा नाममा हुने तडकभडकलाई रोक्दै मादल, बाँसुरीलगायतका लोक बाजाको संरक्षणका लागि मादल बनाउने समुदायलाई उद्यमशीलताका लागि प्रोत्साहन गर्नेगरी तीनै तहका सरकारले सोच्नुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ जिल्ला अध्यक्ष राजेन्द्र दाहालको भनाइ छ ।