• ११ मंसिर २०८१, मङ्गलबार

एन. आर. कलेजको १७ औं वार्षिकोत्सव

‘शिक्षा क्षेत्रको परिवर्तनमा शीर्ष नेतृत्वको ध्यान गएन’

blog

कलेजको अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरू ।

काठमाडौं, भदौ ३० गते । शिक्षा सेवीहरूले राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिक परिवर्तनको नेतृत्व गर्न सक्षम भए पनि शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि भने ध्यान नदिएको गुनासो गरेका छन् । 

कक्षा १२ उत्तीर्ण गर्नासाथ विद्यार्थीहरूको ध्यान विदेश जाने क्रम बढेकाले नेपालको शिक्षा प्रणालीमा तुरुन्तै सुधार गर्नुपर्ने खाँचो पनि उनीहरूले औँल्याएका छन् । नेपालका विश्वविद्यालयले आफ्नो शिक्षा प्रणालीमा सामयिकरुपमा सुधार गर्न नसक्ने हो भने शिक्षा क्षेत्रले ठुलै चुनौतीको सामना गर्नुपर्ने चिन्ता पनि शिक्षा सेवीहरूले व्यक्त गरेका छन् । 

काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका नेपालटारमा रहेको एन. आर. कलेजको १७ औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । 

कलेज सञ्चालक समितिका अध्यक्ष चित्रवरध्वज थापाले कलेजका धेरै किसिमका चुनौती रहे पनि सबैको साथ, सहयोगले समाधान गरेर जाने बताउनुभयो । उहाँले वार्षिकोत्सवमा आयोजित अतिरिक्त क्रियाकलापमा पहिलो, दोस्रो, तेस्रो स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई प्रमाणपत्र र पदकद्वारा सम्मानित गर्नुभयो । 


सम्मानित अध्यापकहरू ।

यसैगरी, वार्षिकोत्सवको अवसरमा शैक्षिक सत्र २०७८-२०७९ मा विभिन्न विषय अध्यापन गराएर परीक्षामा सहभागी विद्यार्थीले उत्कृष्ट अङ्क ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अध्यापकहरूलाई नगद पुरस्कारसहित प्रशंसापत्रबाट सम्मानित गरियो । त्यसैगरी, कलेज स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नु भएका कलेजका संस्थापक प्रिन्सिपल धनलाल महर्जनलाई पनि सम्मान गरियो । 

क्याम्पसका प्रिन्सिपल राजीप धितालले कलेजले भौतिक पूर्वाधारको विकासमा विशेष ध्यान दिएको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोग गरेर सुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यस सामुदायिक कलेजलाई विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यु.ए.ए) को प्रक्रियामा अगाडि लैजाने कार्य भइरहेको जानकारी दिनुभयो । 

कलेजका संस्थापक प्रिन्सिपल धनलाल महर्जन, कलेज सञ्चालक समितिका सदस्य रामभक्त्त सिग्देल, प्राध्यापक श्यामकृष्ण विष्ट, अध्यापक कृष्णराज कट्टेललगायतले कलेजको शैक्षिक अवस्थाका बारेमा चर्चा गर्नुभयो । स्नातक तहमा मानविकी, शिक्षा, व्यवस्थापन सङ्काय तथा स्नातकोत्तर तहमा समाज शास्त्र र व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएसम्मको अध्यापन हुँदै आएको जानकारी कलेजले दिएको छ । 


कलेजका संस्थापक प्रिन्सिपल धनलाल महर्जन (बिच) लाई सम्मान गरिँदै ।