• २१ वैशाख २०८१, शुक्रबार

पितालाई सम्मान गर्ने दिन

blog

काठमाडौँको गोकर्णेश्वरमा पितृको सम्झना गरिँदै । तस्बिर : सागर बस्नेत

मातृ देवो भवः। पितृ देवो भवः। गुरु देवो भवः। अतिथि देवो भवः। अर्थात् मातालाई, पितालाई, गुरुलाई र अतिथिलाई भगवान्का रूपमा पुज्नु पर्छ भन्ने हाम्रो धार्मिक मान्यता छ। माताले नौ महिनासम्म गर्भमा राखी आफ्नो सन्तानलाई जन्म दिनु हुन्छ र यो संसार देखाइदिनु हुन्छ। पिताले लालनपालन गरी हुर्काइदिनु हुन्छ र भाग्य बनाइदिनु हुन्छ। बोलीचाली, विधि, व्यवहार पनि सिकाइदिनु हुन्छ। गुरुले शिक्षा दिनु हुन्छ। जीवनमा सफल व्यक्ति हुन बाटो देखाइदिनु हुन्छ। जुन जुन पेसामा लागेर नाम र दाम कमाइन्छ, त्यो सबै गुरुले गर्दा नै हो। माता, पिता र गुरुसँगै अतिथिलाई पनि हामीले भगवान्सरह नै मान्नु पर्छ भनेर हाम्रो संस्कारले सिकाएको छ। 

हामी आआफ्ना व्यवसायमा लागेका हुन्छौँ। आआफ्नो कर्म अनुसार विभिन्न पदमा पुगेका हुन्छौँ, व्यवसाय पनि गरेका हुन्छौँ। पदहरूमा पुग्ने र व्यवसायमा सफल हुने मौका पनि हाम्रा मातापिताले नै बनाइदिनुभएको हो। उहाँहरूको यो योगदानका लागि हामीले कृतज्ञता व्यक्त गर्नु पर्छ। यसका लागि उहाँहरूलाई सम्मान गर्नु पर्छ। मातापितालाई सम्मान गर्ने  विशेष दिन प्रत्येक वर्ष वैशाख कृष्ण औँसी र भाद्रकृष्ण औँसीको दिनमा पर्छ। 

अर्थात् वैशाख कृष्ण औँसीको दिनलाई आमाको मुख हेर्ने दिन र भाद्रकृष्ण औँसीको दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा हामीले मनाउँदै आएका छौँ। यी दिनमा देशविदेश, गाउँसहरमा बसेका सबै सन्तानले मातापिताको सुस्वास्थ्य, दीर्घायुको कामना गरी आआफ्नो क्षमता अनुसार मिठाई, फलपूmल, खानेकुरा तथा लुगा प्रदान गरी आमाबाबुलाई खुसी राख्छन्। टाढा रहेका छोराछोरीले फोनबाट भने पनि आफ्नो आमाबाबुको आशीर्वाद लिन्छन्। यस दिन दिवङ्गत हुनुभएका पिताको सम्झनामा गोकर्ण तीर्थको त्रिवेणी (सूर्यमती, चन्द्रमती र बागमती मिसिएको ठाउँ) र रसुवाको वेत्रावतीमा नुहाएर एकचित्त भई शुद्ध वस्त्र धारण गरी आफ्नो जातीय विधि अनुरूप श्राद्ध, तर्पण, सिदा दान गरी पितृ तार्ने काम गरिन्छ। फलफूल, मिठाई पनि दान गर्ने चलन छ। यस दिन श्राद्ध, तर्पण, सिदा दान गर्नेहरूको यहाँ ठुलो भिड लाग्छ। पितृ उद्धारका लागि पौराणिक कालदेखि नै यो स्थानको महत्व धेरै नै रही आएको छ। यस दिन यहाँ स्नान गर्नाले ठुलो पुण्य मिल्छ भन्ने विश्वास पनि रही आएको छ। गोकर्ण तीर्थलाई उत्तर गया भनिन्छ। भारतको गयालाई चाहिँ दक्षिण गया भनिन्छ। 

भाद्रकृष्ण औँसीलाई कुशे औँसी पनि भनिन्छ। कुशे औँसीका दिन देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश पनि घरघरमा भित्र्याइन्छ। यो कुशलाई वर्षभरि प्रयोग गरिन्छ। कुश भित्र्याउँदा शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा भित्र्याइन्छ। कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। कुश, तुलसी, पिपल र शालिग्रामलाई हिन्दु भगवान् विष्णुको प्रतीक मान्छन्। 

यस दिन बाबुको गुण सम्झी उहाँलाई खुसी पार्न स्वच्छ मनले उहाँलाई मन पर्ने खानेकुरा र सामग्री उपहार दिन्छौँ। जीवनमा हामीले केही गल्ती गरेका छौँ भने पनि यस दिन सबै गल्ती बाबुले माफ पनि गरिदिनु हुन्छ। हाम्रो अभिभावक तथा जन्मदाता पिताको जति वर्णन गरे पनि सकिँदैन। हरेक सन्तानले आफ्ना आमाबाबुलाई सम्मान गर्नु पर्छ। यो संस्कार हाम्रा लागि अतुलनीय नै छ। 

देवादिदेव महादेव भने जस्तै मातापिता पनि हाम्रालागि ठुला भगवान् हुन्। किनकि सन्तानलाई सृष्टि गर्नुहुने आमाबाबु हुन्। त्यसैले आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिनमा पनि सार्वजनिक बिदा हुनु पर्छ। केही वर्षयता यस विषयमा ध्यान पुग्न सकेको छैन। अन्य चाडपर्वमा सार्वजनिक बिदा दिए जस्तै यस पर्वमा पनि बिदा दिइनु पर्छ। यसो हुन सकेमा सबै आमाबाबुप्रति उच्च सम्मानको कदर हुन्छ। अनि मात्र मातृ देवो भवः। पितृ देवो भवः। गुरु देवो भवः। अतिथि देवो भवः मन्त्र सार्थक बन्छ।   

Author

नातिकाजी महर्जन