• १३ मंसिर २०८१, बिहिबार

पन्ध्र लाखको पर्खाल बाढीले स्वाहा

blog

बाढीले भत्काएको आभारतभूत स्वास्थ्य केन्द्रको पर्खाल । तस्बिर : रमित पाण्डेय

अविनाश चौधरी

धनगढी, भदौ २९ गते । कैलालीको भजनी नगरपालिका–३ स्थित आधारभूत स्वास्थ्य केन्द्रको सुरक्षाको लागि निर्माण गरिएको १५ लाखमा बनेको पर्खाल स्वाहा भएको छ । 

साउनमा आएको बाढीले पर्खाल भत्काएको हो । पर्खाल भत्केपछि स्वास्थ्य केन्द्र सञ्चालनमा ढिलाइ भएको छ । जेठमा १५ लाख रुपियाँ लागतमा पर्खाल निर्माण गर्नुका साथै अगाडि माटो भरान गरिएको थियो । 

तर, साउनमा आएको बाढीले पर्खालै भत्काएपछि समस्या भएको नगरपालिका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो । अब पर्खाल मर्मत गरेरमात्रै आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो । 

आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि दुई वर्ष अगाडि भवन तयार गरिए पनि आधारभूत स्वास्थ्य केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने संघीय सरकारको नीति अनुरुप आर्थिक वर्ष २०७८/८९ मा सो भवन निर्माण गरिएको थियो । संघीय सरकारको ४३ लाख रुपियाँ लगानीमा बनेको भवन प्रयोगविहीन रहेको छ ।