सङ्गीता तिमिल्सेना
बडीमालिका (बाजुरा), भदौ १८ गते । हिमाली गाउँपालिकामा एक १४ वर्षीय किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत अवस्थामा फेला परेकी किशोरी हिमाली गाउँपालिका –१ नेटाकी स्थानीय तारा थापाकी १४ वर्षीया छोरी सर्पनसिला थापा छन् ।
उनी शनिबार बेलुका घरबाट बेपत्ता भएकी थिइन् । घरबाट हराएकी उनको शव बिछ्याँ खोलामा मृत अवस्थामा भेटिएको हो । स्थानीयहरुले थापा बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र स्थानीयले खोजतलास गर्दा उनको शव आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक भण्डारीको भनाइ छ । मृतक किशोरीको शव पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा राखिएको छ ।