काठमाडौं, भदौ १७ गते ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको जनतासँग तीनमहिने अभियान शनिबारदेखि सुरु गर्नुभयो ।
माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले सो तीन महिने अभियान मुख्यतः तीन चरणमा सम्पन्न हुने जानकारी दिनुभयो । यो अभियानले मतदाताको समेत मूल्याङ्कन गर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “यो भदौं १६ गते देखि सुरु भएर तीन महिनासम्म चल्छ । तीन चरणको यो अभियानमा पहिलो चरणमा पार्टी सबलीकरण, सुदृढीकरण, भेटघाट सबै हिसाबले र दोस्रो चरणमा कमिटी सबलीकरण भएपछि जनतासँगको अन्तरङ्ग चरणमा प्रवेश गर्छ ।” पहिलो चरणमा पार्टीको सबलीकरणमा जोड दिइने र त्यसपछि जनतासँग अन्तरक्रिया अभियानमा अघि बढ्ने उहाँको भनाइ छ ।
जनताको समस्यामा प्रवेश गरेसँगै यसको सम्बोधनसँगै तेस्रो चरणमा अभियानको समग्र अभिलेखीकरणमा जोड रहने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जनताको समस्या के छ, त्यसको काम गर्ने । सरकारी निकाय, स्थानीय निकायसँग समन्वय गरेर बजेटदेखि सबै कुरामा समन्वय एवम् सहकार्य गर्ने ।”
यसैक्रममा हिजो शनिबार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले नागार्जुन सम्बन्धमा टेलिफोन वार्ता गुर्नभएको प्रसङ्गसमेत जोड्नुभयो ।
माओेवादीले तीनमहिने अभियानमा २५ लाख जनताको बीचमा पुग्ने र मतदाता तयार गर्ने बताएको छ ।
उपाध्यायले भन्नुभयो, “पार्टी र पार्टीबिचको भेटघाट त भइहाल्यो तर, पार्टीले कति भोट बढायो । कति मतदातालाई भेटघाट गर्याे । त्यो अनुसार तयारी पुग्यो कि पुगेन भनेर हामीले त्यसलाई रिपोर्टको रुपमा अगाडि ल्याउँछौं ।”
माओवादी केन्द्रको विधान महाधिवेशनपश्चात् समिति गठन गरेर विशेष अधिवेशनले यो अभियान टुङ्गोमा पुर्याउने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “विधान महाधिवेशन गर्ने अनि समिति बनाउने र यो अभियान टुङ्ग्याउने । तीन महिना भने पनि मोटामोटी आन्तरिक रुपमा छ महिना जति यो अभियान अगाडि बढ्छ ।”
उहाँले सो अनुरुप सबै जिल्लामा नेता तथा कार्यकर्ता खटिरहेको बताउनुभयो।