नवीन सुवेदी
सुर्खेत, भदौ १४ गते। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताउनुभएको छ। बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने बताउनुभयो।
यसमा सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीले चनाखो र अझ ठुलो मोर्चा बनाउनुपर्ने बताउनुभयो। कम्युनिस्ट आन्दोलनलगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै उहाँले समाजवादी मोर्चा बनाउँदा अरूभन्दा आफू बढी खुसी भएको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाले थप उत्साहित भएको बताउनुभयो। ‘‘सरकारले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरिसकेको छ। यो मोर्चा एक ठाउँमा भएर लड्दा भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासनको लडाइँ सफल हुन्छ। अहिले धारे हात लगाएर हेरिरहेका छन्। उनीहरू नक्कली कम्युनिस्ट हुन्’’, उहाँले भन्नुभयो।
उहाँले भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने भनाइ गलत भएको दाबी गर्नुभयो। माओवादीकै र स्वयं प्रचण्डकै त्यस्तो विषय आए पनि नछोड्न भनिएको उहाँले बताउनुभयो।
प्रधानमन्त्री प्रचण्डले जनयुद्धको आधार इलाका कर्णाली भएजस्तै समाजवादी क्रान्तिको केन्द्र पनि कर्णाली बन्न सक्ने बताउनुभयो। कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलनलाई बचाउनका लागि भूमिका खेल्ने बताउनुभयो। उहाँले आन्दोलनको उपलब्धिलाई बचाउनका लागि भए पनि मोर्चाको आवश्यक भएको बताउनुभयो। समाजवादी मोर्चाले सरकार ढल्छ कि भन्ने आङ्कलन पनि भइरहेको भन्दै अध्यक्ष नेपालले सरकार कुनै हालतमा नढल्ने दाबी गर्नुभयो। कम्युनिष्ट मिल्दा गठबन्धन भित्रको दल नेपाली कांग्रेसको मनमा चिसो नभई तातो पसेको उहाँले उल्लेख गर्नुभयो।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाका लागि कम्युनिस्ट पार्टी एक ठाउँमा उभिनुपर्ने बताउनुभयो।
महासचिव विप्लवले कम्युनिस्ट पार्टी समाजवादी मोर्चामा आउनुपर्ने बताउनुभएको हो। उहाँले अहिलेसम्म कसैको अधीनमा नरहेको नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास भइरहेको बताउनुभयो। उहाँले नेपालमा अर्को क्रान्तिको पुनः आवश्यक रहेकोसमेत बताउनुभयो।
वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभा