• १२ फागुन २०८०, शनिबार

असमानताका बिच समानता खोज्दै

blog

जानु घितालद्वारा लिखित कविता सङ्ग्रह छाउगोठकी आमामार्फत समाजका केही जड रूढिवादीहरू प्रस्तुत भएका छन् । सांस्कृतिक चेतना समाजको अभिन्न अङ्ग हो, सांस्कृतिक चेतनासँगै केही यस्ता परम्पराहरू छन्, त्यसलाई मानव मस्तिष्कबाट निकाल्न कठिन पर्छ । मानव मस्तिष्कमा गाढा भएर, पाप र धर्मको तुलोमा जोख्न थाल्ने रूढिवादीका बारेमा लेखक कविहरूले उजागर गर्नु पर्छ । नेपालको सुदूरपश्चिममा गाढिएर रहेको छाउप्रथाका बारेमा लेखिएका शीर्षक कवितामार्फत त्यहाँको अवस्थालाई कवितामार्फत व्यक्त गरेकी छिन कवि जानु धितालले ।

हामीले समाचारमा सुनेका भन्दा त्यहाँका वास्तविक भोगाइ अत्यन्त कठिन छ, हुम्ला बसाइका क्रममा त्यहाँको जनजीवनलाई नजिकबाट हेर्ने अवसर प्राप्त गरेको छु । कवि धितालले पनि कवितामार्फत तिनै असमान पक्षको चिरफार गरेकी छिन् ।  

छाउगोठकी आमाभित्रका छब्बिस कविताहरूले वर्तमान समयका असमानताका बारेमा बोलेका छन् । सरल शब्दशैलीमा समाजका गम्भीर विषय उठान भएका छन् । कवि नारी भएकै कारण उनका कवितामा नारी आवाजहरूको बाहुल्यता बढी नै छन् । कविताहरू मझौला आकारका सुन्दर तथा शालीन छन् । नारी कविका शब्दमा पुरुष पीडाका आवाजहरू कवितामा अटाएका छन् । प्रेमका सन्दर्भ तथा बेमेल वर्तमान राजनीतिका यथार्थ चित्र छाउगोठकी आमामार्फत पढ्न सकिन्छ ।  

नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेखिएका यी कविताहरू अङ्ग्रेजी भाषामा पढ्न चाहनेहरूका लागि राम्रो अवसर छ । कवितामा व्यङ्ग्य चेतना साथै अध्यात्म चिन्तनका चिन्तन गरिएका छन् । मानवले मानवतासँग खेलवाड गर्ने वर्तमान समयको बेमेल चित्र कविताका मूल खम्बा हु्न्, यसले कविलाई कवित्वको दीर्घजीवन दिएको पक्कै छ । व्यस्त समयको व्यस्त दैनिकी वर्तमान मानवका एउटा पक्ष हुन्, ती व्यस्त दैनिकीको बाबजुद पनि सर्जक चनाखो भएर समाजप्रति उत्तरदायी हुनु पर्छ भन्ने कविताको अर्को पक्ष हो । यस कारण पनि जानुका कविताहरू चाखलाग्दा र समयसापेक्ष रहेका छन् । 

‘कसैका लागि –खुसीका टुक्रा

जुवाका खालमा छन् 

कोही खुसी र आनन्द भट्टीमा खोज्दै छन्

कोही सडकका पेटीमा 

खुसीको मोलमोलाइ गर्दै छन् 

कोही त्यही खुसी किन्न 

आफैँलाई पलपल बेच्दै छन् ।’ 

छाउगोठकी आमाभित्र लेखिएका यी कविताका पङ्क्तिहरूले वर्तमानका मौन आवाज बोलिरहेका छन् । हरेक मान्छे विलासी बन्दै गएका छन्, हुनेखानेहरू पैसा र शक्तिको बलमा मातेका छन्, नहुनेहरू विदेशमा आफ्ना जवानी सुकाइरहेका छन् । राजनीतिक परिवर्तनले झन् हुने र नहुनेको दूरी बढाएको छ । हो त्यही असमान दूरीमा समानता खोज्न सर्जकहरूले सिर्जनाका माध्यम अपनाएको देखिन्छ । त्यही मेसोमा जानु धितालले असमानताका आवाज सशक्त रूपमा उठाएकी छिन छाउगोठकी आमामार्फत् ।

 वास्तवमै कविले उठान गर्न खोजेको कुरा अति सुन्दर लाग्छ । मान्छेले बेला बेलामा आफ्नो धरातल विर्सन्छ र त प्राकृतिक प्रकोपहरूको सिकार बन्छ । केही समयअगाडि हामी भूकम्प र कोरोनाको महामारीको चपेटामा लपेटिरहेका थियौँ । अहिले त्यो समय टरे पनि त्यसको दीर्घकालीन असर हामीले भोग्न थालेका छौँ । यहाँ कविको धारणा स्पष्ट छ, हामी प्रकृतिको शरणमा छौँ, प्रकृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो । प्रकृतिप्रतिको कविको स्नेहले कविताको पङ्क्तिहरू सुन्दर बनेका छन् । 

कविताहरू सरल, सुन्दर र बोधगम्य छन् । भाषा र शैली पनि बेजोडकै छ । कवितामा यथार्थ र कल्पनाको घोल मिश्रित भएका छन् । अझै केही कविताहरूमा थोरै विम्बको प्रयोग भएको भएको भए, कविता सुन्दर देखिन्थे । धेरै सरलताले पनि साहित्य कमजोर बन्छ, उनको कविता बुन्ने बुनोट भने बेजोडकै छ । 

कृति: छाउगोठकी आमा

विधा: कविता

कवि: जानु धिताल 

प्रकाशक: सोसल एन्ड ऐकेडेमिक इन्नोभेसन्स प्रालि

प्रकाशन: २०७९ 

पृष्ठ: १२०

मूल्य: रु. ३०० ।–

Author

छविरमण सिलवाल