• १३ मंसिर २०८१, बिहिबार

जवानीमा ढिकीजाँतो कुटेकाले सय वर्ष बाँचे

blog

धनगढी समाचारदाता

धनगढी, भदौ १२ गते । “डाई कहाँ गैलो ? (आमा कता जानू भो)”, जाईकी जानकी डङ्गौरा थारूको मुखबाट दिउँसो तथा राति पनि निस्किने आवाज हो यो । भनिन्छ, मान्छे आफ्नो जीवनमा दुई पटक बच्चा बन्छ । पहिले बाल्यकालमा, त्यसपछि बुढेस्कालमा । 

धनगढी उपमहानगरपालिका–५, जाई गाउँकी ११० वर्षीय ज्येष्ठ नागरिक जानकी पनि अहिले बच्चा सरह नै हुनुभएको छ । आँखाको ज्योति लगभग गुमाइसकेकी जानकी जतिखेर पनि आमाका रूपमा आफ्नो बुहारी रम्कीलाई खोजिरहनुहुन्छ । 

बयोवृद्धा जानकी बुहारीलाई आमा भन्नुहुन्छ । त्यसैले मुखबाट निस्किरहन्छ, ‘डाई कहाँ गैलो ?’ “बज्यैले डाई डाई भनेर जति बेला पनि हाम्रो सासूलाई खोजिरहनुहुन्छ,” जानकीकी नातिनी बुहारी कल्पनाले भन्नुभयो, “अहिले उहाँको आफ्नै बुहारी आमा सरह हुनुभएको छ ।”

नेपालमा पुरुषको भन्दा महिलाको औसत आयु बढी देखिएको छ । महिलाको आयु ७२ वर्ष रहेको छ । यद्यपि एक सय वर्षभन्दा बढी वर्ष बाँच्ने महिला बिरलै भेटिएका छन् । जानकी कैलाली जिल्ला कै सम्भवतः सबैभन्दा बढी वर्षकी ज्येष्ठ नागरिक हुनुहुन्छ । विगतमा ढिकीजाँतो तथा नियमित कामसँग भलाकुसारी गरेकाले एक सयभन्दा बढी वर्ष बाँचेको अनुभव उहाँको छ । त्यो बेलाको खानपान पनि उहाँको उमेर एक सयमाथि लाग्नुको मुख्य कारण भएको हुनसक्ने आफन्तहरू बताउछन् । 

 “पहिले अहिलेको जस्तो मिल थिएन । खानका लागि ढिकी कुट्नै पथ्र्यौ, जाँतोमा मकै, दाल पिध्नै पथ्र्यौ,” ज्येष्ठ नागरिक जानकीले भन्नुभयो, “जवानीमा खुब काम गरेकाले धेरै वर्ष बाँच्न पाइयो । हिँडडुल गर्न सकिन्न नत्र अझै काम गर्ने इच्छा छ ।” 

घर लिपपोतका लागि थारू महिलाले खुट्टाले खुब किचेर माटोको ‘गिलुवा’ बनाउने गर्दथे । जानी नजानी हजुरआमाले गरेको काम शारीरिक व्यायामसरह भएकाले उहाँको आयु लामो भएको कल्पनाको ठहर छ । “अहिलेको मान्छेलाई त ७०/८० वर्ष पनि बाँच्न मुस्किल छ,” उहाँले भन्नुभयो । 

जानकी एक सयभन्दा बढी वर्ष बाँच्ने ज्येष्ठ नागरिक मात्रै नभई दाङबाट बसाइँ सरेर कैलाली आउने (बुह्रान झर्ने) एक जिउँदो इतिहास पनि हुनुहुन्छ । विक्रम सम्वत् १९७० चैतमा जन्मिनुभएकी उहाँको दाङकै टर्गैं (हालको टरिगाउँ तुलसीपुर नगरपालिका) मा जन्म र विवाह भएको थियो । पछि तीन सन्तान बोकेर श्रीमान् बुद्धिराम डङ्गौराको साथमा कैलालीको जाई आउनुभयो । 

जानकीका बुहारी रम्कीका अनुसार कमाउन आएकाले सासू ससुराले जाईमा जग्गा बनाउन सकेनन् । “पछि तीन सय रुपियाँमा तीन कट्ठा जग्गा किन्नु भएछ,” उहाँले भन्नुभयो । जानकीका तीन छोरा थिए । जेठो महेरमान डङ्गौराको निधन भइसकेको छ । यसै गरी सात नाति, आठ नातिनी, आठ पनाति र एक खनातिनी रहेका छन् । 

सासूले परिवारमा कैयौँ पुस्ता देख्न पाएको रम्कीले बताउनुभयो । “हिँडडुल गर्न र राम्ररी देख्न नसक्ने सासूको मैले रेखदेख गर्दै आएकी छु,” उहाँले भन्नुभयो । सासू बुहारी दुवै जनाले सामाजिक सुरक्षा भत्ता पाएर जीवन निर्वाह गरिरहेका छन् ।