• १२ मंसिर २०८१, बुधबार

‘तथ्यमा आधारित समाचार नलेख्दा दुर्घटना निम्तिन्छ’

blog

कार्यक्रमका सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १० गते । देशमा आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके दुर्घटनामा पर्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउनुभएको छ ।  

‘जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा मिडियाको भूमिका’ विषयक दुई दिने अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरूले जोखिममा समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित नभए दुर्घटना हुन सक्ने बताएका हुन् । 

अधिकांश स्वास्थ्य विज्ञले अन्य विधामा कलम चलाउनेभन्दा स्वास्थ्य क्षेत्रमा केन्द्रित भएर कलम चलाउने पत्रकार बढी संवेदनशील हुनुपर्ने भन्दै जोखिमको समयमा सचेत भएर कलम चलाउन सुझाव दिनुभयो ।   

राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले स्वास्थ्य पत्रकारिता गर्दा व्यक्तिको मौलिक हकलाई दृष्टिगत गर्दै गोपनीयता कायम राखेर समाचार लेख्नुपर्ने बताउनुभयो । उहाँले प्रमाणका आधारमा लेखन नभए ठुलो क्षति पुग्ने पनि सुझाउनुभयो ।   

कोभिडकालमा आफू स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गर्नुपरेको खोपको उचित व्यवस्थापन र मिडियाको प्रेसरलाई सम्झँदै यस्तो जोखिमका बेला सूचना प्रवाहमा हतार गर्न नहुने बताउनुभयो । जोखिमका बेला सूचना समेत पूर्णरुपले तयार नभएकाले जनतामा पुग्दा त्यसले छुटै सन्देश दिनुका साथै छुट्टै अर्थ लाग्ने उहाँको भनाइ छ ।   

स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. रोशन पोखरेलले पत्रकारले हरेक सूचना सम्प्रेषण गर्दा समुदायमा पर्ने असरको विषयमा ख्याल गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जोखिमको अवस्थामा सही र सत्य सूचनालाई तौलिएर मात्रै जनतामाझ पुगाउन मिडियाले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्राले वैज्ञानिक र तथ्यपरक छ कि छैन भन्ने जाँचेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।  

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले समाचार लेख्दा प्रयोग गरिने शब्दमा ध्यान दिनुपर्ने बताउनुभयो । कहिलेकाहीँ सही समाचार भए पनि शब्दका कारण दुर्घटना निम्तिनसक्ने उहाँले बताउनुभयो ।   

स्वास्थ्य सेवा विभाग अन्तर्गत स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक शिला श्रेष्ठले जोखिम सञ्चारमा तथ्यपरक सूचना सम्प्रेषण महत्त्वपूर्ण रहने बताउनुभयो । 

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले जोखिमका बेला भ्रम तथा हल्लाहरू पनि अत्यधिक मात्रामा सुनिने बताउनुभयो । उहाँले कोभिडको समयमा फरक फरक व्यक्तिहरूले आफू अनुकूल सन्देशहरू दिँदा जनतामा भ्रम पैदा भएको बताउनुभयो । त्यसलाई चिर्ने काम सञ्चार माध्यमको भएकाले समाचार लेख्दा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । स्वास्थ्यजस्तो प्रत्यक्ष जनतासँग जोडिएको विषयमा ब्रेकिङ समाचारको पछि लाग्न नहुने उहाँको तर्क छ । 

राष्ट्रिय स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले जोखिमको समयमा हुने सञ्चारमा सम्बन्धित विज्ञ वा आधिकारिक व्यक्ति र जोखिममा रहेका नागरिकबीच तत्काल दिइने सूचना, जानकारी, परामर्श र राय सुझावको आदानप्रदान हुनुपर्ने बताउनुभयो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले कोभिडको महामारीमा अनावश्यक हल्ला, कोभिडविरुद्धको खोपको बारेमा भ्रमहरू फैलाइएकाले खोपमाथि आम जनताको अविश्वास बढेको बताउनुभयो । गलत सन्देशले गर्दा नागरिकमा अनावश्यक डर उत्पन्न भई खोप लगाउनमा हिचकिचाहट भएको अनुभव सुनाउनुभयो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता तथा एचइओसी प्रमुख डा. समीर अधिकारीले सही र सत्य सूचनालाई मात्रै प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।