• ११ मंसिर २०८१, मङ्गलबार

शनिबार ‘काठमाडौँ यूथ कन्क्लेभ’ हुने

blog

पत्रकार सम्मेलन ।

काठमाडौँ, भदौ ७ गते । आगामी शनिबार राजधानीमा ‘काठमाडौँ यूथ कन्क्लेभ, २०२३’ आयोजना गरिने भएको छ । युनिभर्सल कलेज र फिनिक्स कलेज अफ म्यानेजमेन्टले कन्क्लेभ आयोजना गर्न लागेका हुन् । 

यो काठमाडौँ यूथ कन्क्लेभको चौथो संस्करण हो । मुलुकका विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तिको ज्ञान, सीप र अनुभवलाई युवामा साझा गरी देशको विकासका लागि योगदान पुर्‍याउन उत्साहित, अभिप्रेरित तथा दिशानिर्देश गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा युनिभर्सल तथा फिनिक्स कलेज नेटवर्कका निर्देशक राजु टण्डनले जानकारी दिनुभयो ।  

करिब साढे तीन हजार युवाको सहभागिता हुने आयोजकले जनाएको छ । कन्क्लेभमा १६ देखि २५ वर्षका युवाको सहभागिता रहनेछ । युवा जनशक्तिलाई विदेश जानुभन्दा स्वदेशमा सम्भावना खोज्न अभिप्रेरित गर्दै नेपालमै उच्च शिक्षा प्रदान गरी देशको आर्थिक विकासमा सक्रिय नेतृत्व दिई स्वरोजगारका अवसर सिर्जना गरी राष्ट्र सेवामा अभिप्रेरित गर्ने भूमिका यूथ कन्क्लेभको रहेको युनिभर्सल कलेजका प्राचार्य प्राध्यापक डा. फत्तबहादुर केसीले जानकारी दिनुभयो । 

कन्क्लेभमा स्वदेशका ठुला कम्पनीका प्रमुख, प्रख्यात गायक, खेलाडी, हास्य कलाकार, आँखा विशेषज्ञ डा. सन्दुक रुइत, सेफ सन्तोष साह लगायतले युवालाई प्रेरित गर्ने कार्यक्रम रहेको छ । कन्क्लेभमा यूथ आइकन अवार्ड नेपाली पब्जी टिम डिआरसलाई प्रदान गरिनेछ । 

पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । कार्यक्रममा साङ्गीतिक प्रस्तुति, प्रहसन, नृत्यका साथै खानाका स्टल, खेलका प्रस्तुति पनि रहने फिनिक्स कलेजका प्राचार्य प्राध्यापक डा. फत्तबहादुर केसीले बताउनुभयो ।