शालिग्राम नेपाल
चितवन, साउन ३२ गते । चितवनको गोन्द्राङ–पुलचोक छ लेन सडक निर्माणको काम निर्धारित समयमा नसकिँदा नारायणगढ बजार अस्तव्यस्त बन्न पुगेको छ ।
चितवन र आसपासका जिल्लाको मुख्य व्यापारिक केन्द्र नारायणगढको मुख्य बजारमा सडक निर्माणको काम अलपत्र पर्दा वर्षामा डुबान हुने गरेको छ । साढे दुई वर्षअघिदेखि सडक विस्तारको काम सुरु भए पनि समयमा निर्माण सम्पन्न नहुँदा र खनेर छाडेपछि बजार अस्तव्यस्त बनेको हो ।
ठेकेदार कम्पनीले निर्माण कार्य गर्दागर्दै छाडेपछि सामान्य वर्षा हुँदा पनि सडकमा पोखरी बन्ने गरेको छ । पूर्व–पश्चिम राजमार्गमा रहेको नारायणगढ बजार भएर यात्रा गर्न, किनमेल गर्न समस्या हुने गरेको छ । “काम छिटो गर्न ठेकेदारलाई कम्तीमा १० पटक डेलिगेसन गयौँ तर छिटो काम हुन सकेन । यो सबै विषय जानकारी गराउँदा काम भएको छैन,” उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भन्नुभयो ।
भरतपुरको ओरालो र लायन्स चोकमा पुल निर्माण सम्पन्न भइसक्दासमेत सवारीसाधन सञ्चालन गर्न दिइएको छैन । “निर्माण सम्पन्न भएको स्थानमा खाल्डो पुरेर यातायात सञ्चालन गर्न दिनुपर्छ भन्दै हामीले दबाब दियौँ सुनुवाइ भएको छैन । राजनीतिक दल, व्यापारी, व्यवसायी, समाजका अगुवा सबैले दबाब दिँदासमेत काम भएको छैन,” नारायणगढका स्थानीय टङ्कनाथ पौडेलले भन्नुभयो ।
निर्माणको क्रममा रहेकाले तत्काल सहज बनाउन नसकिएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले बताउनुभयो । खानेपानीको पुरानो पाइप हटाएर नयाँ पाइप जोड्ने काम भइरहेकाले भदौको अन्तिम साता अगाडि निर्माणको काम हुन नसक्ने प्रमुख पौडेलले जानकारी दिनुभयो ।
छ लेनको सडक निर्माण भइरहेको बजार क्षेत्रमा अहिले चार लेनको सडक कालोपत्रे भइसकेको छ । तर पनि दुई लेनको सडकमा मात्र यातायात सञ्चालन गर्न दिएको छ । चार लेन निर्माण सक्दा दुई लेन मात्र सञ्चालन गर्न दिँदा सवारीसाधनको चापले ट्राफिक व्यवस्थापनमा कुनै नियम लागु गरिएको छैन । सवारीसाधनको चापले गर्दा चालक र पैदलयात्रीलाई यात्रा गर्न असहज भएको छ ।
निर्माण कार्य भइरहेकाले ट्राफिक व्यवस्थापन गर्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले बताउनुभयो ।
सत्तरी प्रतिशत निर्माण सम्पन्न
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिकाको पूर्वी सिमाना गोन्द्राङदेखि नारायणगढको पुलचोकसम्मको सडकको निर्माणकार्य ७० प्रतिशत सम्पन्न भएको छ । सडक पाँच किलोमिटर निर्माण भएको र अब डेढ किलोमिटर निर्माण सम्पन्न हुन बाँकी रहेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख पौडेलले जानकारी दिनुभयो । असार मसान्तसम्ममा निर्माण पूरा गर्ने भनिए पनि नसकेपछि आगामी मङ्सिर महिना म्याद थप गरिएको छ ।
कार्यालयका अनुसार थपिएको समयमा मुल सडक निर्माण पूरा भए पनि सहायक मार्ग भने केही समय थप लाग्न सक्ने छ । “भदौको अन्तिम सातादेखि निर्माणलाई तीव्रता दिएर मङ्सिरमा सम्पन्न गर्ने तयारी छ,” पौडेलले भन्नुभयो ।
एक अर्ब २३ करोड रुपियाँको लागतमा निर्माणाधीन सडकको बिच भागमा फूल तथा होचा जातका बोटबिरुवा रोपेर हरियाली बनाउने तयारी रहेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।