• २४ पुस २०८१, बुधबार

दाउरा नदिए आन्दोलन गर्ने चेतावनी

blog

बोमलाल गिरी 

नवलपुर, साउन २६ गते । नारायणघाट–बुटवल सडकखण्ड विस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठदाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनले असन्तुष्टि जनाएका छन्। 

सडक विस्तारका क्रममा काटिएका काठदाउरा लामो समयसम्म स्थानीय सामुदायिक वनमा घाटगद्दी गरेर राखिएको थियो। कटान गरी घाटगद्दी गरेर राख्ने बेला प्रक्रिया पु-याएर स्थानीय सामुदायिक वनलाई दिने भनिएको भए पनि निकुञ्जले गत असार २५ गते २१ दिनको म्याद राखेर लिलामको सूचना निकालेको थियो। 

स्थानीयले संरक्षण गरेको सामुदायिक वनको काठदाउरा सामुदायिक वनलाई हस्तान्तरण नगरी लिलाम बढाबढ गरेर बिक्री वितरणका लागि निकुञ्जले सूचना निकालेर प्रक्रिया अगाडि बढाएको भन्दै सामुदायिक वनले असन्तुष्टि व्यक्त गरेका हुन्। 

निकुञ्जले काठदाउरा लिलाम बिक्री गर्न सूचना निकालेर अगाडि बढिसकेको भए पनि बाटो विस्तारका क्रममा सामुदायिक वनमा काटिएका काठदाउरा आफूहरूले पाउनुपर्ने र नपाए आन्दोलन गर्ने सामुदायिक वनले चेतावनी दिएका छन्। 

बाटो विस्तारका क्रममा काटिएका काठदाउरामा स्थानीय सामुदायिक वन र तिनका उपभोक्ताको अधिकार हुने भएकाले लिलाम प्रक्रिया रोकेर तत्काल कटान गरिएका काठदाउरा सामुदायिक वनलाई हस्तान्तरण गर्न माग गरेका छन्। लामीचौर उपभोक्ता समिति अन्तर्गत पर्ने कुढौली मध्यवर्ती सामुदायिक वन, राजरत्न मध्यवर्ती सामुदायिक वन र शान्ति मध्यवर्ती सामुदायिक वनका अध्यक्षसहितका पदाधिकारीले यस्तो माग गरेका हुन्। 

निकुञ्जले मागलाई बेवास्ता गरेर अगाडि बढे रेन्जपोस्ट, पश्चिम सेक्टर कार्यालय तथा निकुञ्ज कार्यालय घेर्ने, सडक आन्दोलन गर्ने तयारीमा जुट्न आमउपभोक्तालाई वनहरूले आह्वान गरेका छन्। लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलले अहिले आएर चितवन राष्ट्रिय निकुञ्जले काठदाउरा लिलाम बिक्री गरेर वन संरक्षक स्थानीय सामुदायिक वनका उपभोक्ताप्रति अन्याय गरेको बताउनुभयो। उहाँले कटान गर्ने बेला काटिएका काठदाउरा स्थानीय सामुदायिक वनलाई दिने मौखिक सहमति भएको उहाँको भनाइ छ। 

सामुदायिक वनले वार्षिक कार्ययोजना अनुरूप काठदाउरा पाइरहेकाले बाटो विस्तारका क्रममा काटिएका काठदाउरा निकुञ्जले लिलाम बिक्री गरेर राजस्वमा जम्मा गर्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो। काटिएको काठदाउरा सडकको क्षेत्रभित्र पर्ने भए पनि सडक आयोजनाले आफूलाई हस्तान्तरण गरेकाले नियम अनुसार नै काठदाउरा लिलाम बिक्रीका लागि आह्वान गरिएको तिवारीले बताउनुभयो। 

निकुञ्जले जिल्लाको सिख्रौली, सिसवार, लामीचौर उपभोक्ता समिति अन्तर्गतका पाँच वटा मध्यवर्ती वनमा करिब चार वर्षअगाडि दाउरा काटेर राखेको थियो। निकुञ्जले १२ हजार १४४ क्युफिट गोलिया काठ, ५७ थान पोल र साल मिश्रित ९८.५ चट्टा दाउरा लिलामका लागि २१ दिनको म्याद राखेर गत असार २५ गते सूचना निकालेको थियो।