• १३ मंसिर २०८१, बिहिबार

तेक्वान्दो निर्णायकमा जम्दै अशोक

blog

तेक्वान्दो प्रशिक्षक र निर्णायकअशोक खड्का ।

काठमाडौँ, साउन २२ गते । घरेलु तेक्वान्दो वृत्तमा सबैले चिन्ने र लिइने नाम हो, अशोक खड्का । अशोक करिब दुई दशकदेखि तेक्वान्दो खेलाडी, प्रशिक्षक र निर्णायकको भूमिकामा निरन्तर लागि रहनुभएको छ ।

तर, उहाँ हाल तेक्वान्दो प्रशिक्षक र निर्णायकको रूपमा बढी रम्नुभएको छ । अझ भन्नुपर्दा उहाँ निर्णायकको भूमिकामा व्यस्त हुनुहुन्छ । अशोकले आइतबार सम्पन्न विश्व र्याङ्किङ जी–१ अन्तर्गतको किमुनयोङ कपमा निर्णायकको भूमिका निर्वाह गर्नुभयो ।

दक्षिण कोरिया खेलकुद मन्त्रालयको संयोजन र विश्व तेक्वान्दोको आयोजना भएको सो प्रतियोगिता तेक्वान्दोका संस्थापक अध्यक्ष डा. किमुन यमको स्मृतिमा सञ्चालन भएको हो । किमुनयोङ कप उहाँको अन्तर्राष्ट्रिय निर्णायकको रूपमा ३३औँ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । 


अशोकले विश्व वरीयता इभेन्टअन्तर्गत गेरुगी र पुम्से गरी ३० भन्दा बढी प्रतियोगितामा रेफ्रीको भूमिकामा सञ्चालन गर्नुभएको हो । उहाँ पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक पनि हुनुहुन्छ ।

पाँच वर्षअघि विश्व तेक्वान्दो महासङ्घले मान्यता दिएको रेफ्री सेमिनारमा सहभागिता जनाएपछि उहाँको तेक्वान्दो जीवनले अर्को मोड लिएको हो । सो सेमिनारमा सर्वश्रेष्ठ बनेपछि उहाँ अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्री बन्न योग्य बन्नुभयो । त्यसपछि छोटो अवधिमा नै उहाँले विश्वका विभिन्न स्थानमा भएका ३० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक बन्नुभएको हो ।

यस क्रममा अशोक दक्षिण कोरियामा भएको सोङ्नाम ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो २०२३, जापान ओपन तेक्वादो २०२२, अस्ट्रियन ओपन तेक्वान्दो २०२१, बुल्गेरियामा भएको विश्व तेक्वान्दो च्याम्पियनसि, बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वर्ल्ड र्याकिङ प्रतियोगितामा सर्वश्रेष्ठ निर्णायक घोषित हुनुभएको थियो । दुई वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले एक लाख पुरस्कारसहित ‘उत्कृष्ट रेफ्री’का रूपमा पनि अशोकलाई सम्मान गरेको थियो ।

खेलाडी जीवनमा सुदूरपश्चिममा भएको छैटौँ राष्ट्रिय खेलकुदमा पुम्सेमा स्वर्ण पदक नै जितेर आफ्नो पुनरागमन सफल बनाउनुभयो । त्यसपछि उहाँले दक्षिण कोरियामा पनि नेपाललाई स्वर्ण पदक जित्नुभएको थियो । अशोक नेपाली तेक्वान्दोमा ठुलो सम्भावना बोकेका खेलाडी हुनुहुन्थ्यो । तर पटक-पटकको चोटले एक अव्वल तेक्वान्दो खेलाडीलाई आफ्नो गन्तव्य पुग्नबाट रोकेको थियो ।

हुनत खेलाडी जीवनमा सन् २०१७ र २०१८ मा अस्ट्रेलियामा भएको गोल्डकोस्ट ओपन, सन् २०१४ मा भएको विश्व तेक्वादो एक्स्पो, सन् २०१७ मा हङकङमा भएको सिटिए अन्तर्राष्ट्रिय प्रतियोगितामा अशोकले स्वर्ण पदक जित्नुभएको थियो ।

यसैगरी बेलायतमा भएको आइओएफटिसी २०१४, थाइल्यान्डमा भएको दोस्रो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो २०१६, दक्षिण कोरियाको मुजुमा भएको दशौँ विश्व तेक्वान्दो एक्सपो २०१६, भुटानमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१७ र जापान ओपन २०२३ मा जितेका रजत पनि उहाँको सङ्ग्रहमा छ ।


तर चोटले आफ्नो खेलाडी जीवन राम्ररी अगाडि बढ्न सक्दैन भनेर ज्ञान भएपछि अशोकले तेक्वान्दो खेलाडी उत्पादनतर्फ दत्तचित्त भएर लाग्नुभयो । मूलपानी तेक्वान्दो डोजाङमा मुख्य प्रशिक्षण गराएका अशोकले अहिलेसम्म ४५० भन्दा बढी ब्ल्याकबेल्ट खेलाडी उत्पादन गरिसक्नुभएको छ भने पाँच हजार बढीलाई तेक्वान्दो सिकाइसक्नुभएको छ । 

अशोकका चेलाहरूले अहिले अन्तर्राष्ट्रिय तेक्वान्दो खेलेर नेपालको नाम विश्वमा फैलाइरहेका छन् । अशोकले स्थापना गरेको नेप्लिज तेक्वान्दो एकेडेमी घरेलु तेक्वान्दोमा प्रतिष्ठित नाम हो । उहाँको एकेडेमीबाट उत्पादित खेलाडीले अस्ट्रेलिया, जापान, भुटान, मलेसिया, मेक्सिकोलगायतका देशमा नेपालका लागि पदक पनि  लिइसकेका छन् ।

अशोकको सामाजिक सेवामा सक्रियता उल्लेखनीय छ । रक्षा नेपालसँगको सहकार्यमा अशोकले यौनजन्य हिंसामा परेका महिलाहरूलाई निःशुल्क तेक्वान्दो प्रशिक्षण दिनुभएको छ । सोही प्रशिक्षणबाट प्रशिक्षित पूजा बोहराले दक्षिण कोरियामा खेलेर स्वर्ण पदक पनि जित्नुभएको थियो । चेपाङ बालबालिका, जेल परेका अभिभावका छोराछोरी, विभिन्न समस्या परेका बालकालकालाई पनि उहाँले तेक्वान्दो सिकाउनुभएको छ ।

२०७२ सालको भूकम्पमा र कोरोनाकालमा उहाँको समाजसेवामा सक्रिययता लोभलाग्दो थियो । उहाँले चार हजार बढीलाई राहत उपलब्ध गराउनुभएको थियो। यसबाहेक अशोक मिर्गौला पीडित, अनाथ, अपाङ्गका लागि सहयोगमा पनि सधैँ अघि सरेको पाइन्छ ।