नवराज श्रेष्ठ
रामेछाप, साउन १८ गते । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५ नागदहका ५२ वर्षीय बुद्धिबहादुर कामीको दिनमा भोक र रातमा निद्रा हराएको छ। लम्पी स्किन रोगले हलको गोरु मरेपछि बुद्धिबहादुरको भोक र निद्रा दुवै हराएको हो । आफ्नो परिवारको सदस्य जस्तै माया गरेर पालेको हलगोरु मरेपछि उहाँलाई ठुलो चिन्ता परेको छ । गोरु मरेकै कारण बुद्धिबहादुरको खेतबारी बाँझै छन् । मरेका गोरुको सम्झनाले उहाँलाई आजकल घरमा बस्न पनि मन लाग्दैन ।
‘‘भोक, तिर्खा, झरी, बादल, घाम, पानी नभनी परिवारको सदस्य जस्तै गरेर पालेको गोरु एक महिना थला परेर मर्यो, धेरै प्रयास गर्दा पनि बचाउन सकिएन, गोरु विनाको गोठ अहिले विरक्तलाग्दो बनेको छ’’, उहाँले भन्नुभयो । अहिले धमाधम कोदो रोप्ने बेला भएकाले अब कसरी जोतेर खेतीपाती गर्ने भन्ने चिन्ता थपिएको उहाँले बताउनुभयो।
रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारका ६२ वर्षीय रामजी ढकालको पनि पीडा उस्तै छ। एक वर्षअघि मात्रै २५ हजार रुपैयाँ तिरेर ल्याएको गोरु लम्पी स्किन रोगले लामो समय गलेर मरेपछि ढकाललाई खेतीपातीको चिन्ताले सताएको छ । ढकालले भन्नुभयो ‘‘६÷७ हजार रुपियाँको औषधिउपचार गरेँ, गोरु बचाउन सकिनँ । लामो समय थला परेर गोरु मरेपछि अहिले गोठमै जान मन लाग्दैन । हामी किसानको पीडा कसैले सुन्ने रहेनछ ।’
शैलुङमा १४ गोठमा रहेका ४८० वटा चौँरीमा लम्पी स्किनको सङ्क्रमण फैलिएपछि अहिलेसम्म ४५ वटा मरिसकेका छन् । अहिले बाँकी ४३५ वटा चौँरी पनि सङ्क्रमणबाट थलिएको स्थानीय अगुवा कृषक दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका ४० वर्षीय दावा साङ्बु शेर्पाले बताउनुभयो । किसानका अनुसार अहिले एउटा चौरीको मूल्य ८० हजार रुपियाँ पर्छ । ४५ वटा चौंरी मर्दा ३६ लाख रुपियाँ बराबरको क्षति भइसकेको छ ।
रामेछापका सबै स्थानीय तहमा लम्पी स्किन रोग व्यापक रूपमा फैलिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिच्छेद–३ गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारबारे दफा ११ को (ण) ४ मा कृषि तथा पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने, भनिएको छ । तर किसानलाई पेन्सन दिनेदेखि लिएर सहुलियत कर्जा उपलब्ध गराउनेसम्मको कुरा गर्ने सरकार र जनप्रतिनिधिले लम्पी स्किन महामारी नियन्त्रणमा कुनै चासो देखाएका छैनन् ।
साउन १६ गतेको तथ्याङ्कअनुसार रामेछापमा २८ हजार ४८२ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका छन। अहिलेसम्म जिल्लामा ६७७ पशु वस्तु मरिसकेका छन् । अहिले जिल्लाको मन्थली नगरपालिकामा दुई हजार ८५०, रामेछाप नगरपालिकामा दुई हजार ६३७, लिखुतामाकोशी गाउँपालिकामा आठ हजार ४२०, उमाकुण्ड गाउँपालिकामा एक हजार ५००, गोकुलगंगा गाउँपालिकामा चार हजार ५६९, दोरम्बा शैलुङ गाउँपालिकामा दुई हजार ८१६, खाँडादेवी गाउँपालिकामा चार हजार र सुनापती गाउँपालिकामा एक हजार ६९० पशु चौपायामा लम्पी स्किन सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको सम्पर्क कार्यालय रामेछापका सूचना अधिकारी प्रकाश थापाले बताउनुभयो । उहाँका अनुसार लम्पी स्किनको सङ्क्रमणबाट मन्थली नगरपालिकामा ३२, रामेछाप नगरपालिकामा १४०, लिखुतामाकोशी गाउँपालिमा १४९, उमाकुण्ड गाउँपालिकामा ३५, गोकुलगंगा गाउँपालिकामा ५५, दोरम्बा शैलुङ गाउँपालिकामा २०३, सुनापती गाउँपालिकामा ३६ र खाँडादेवी गाउँपालिकामा २७ वटा पशु मरिसकेका छन् ।