• ८ जेठ २०८१, मङ्गलबार

घोराही उपमहानगरले आँखाको निःशुल्क शल्यक्रिया गर्ने

blog

आँखाका बिरामीको निःशुल्क शल्यक्रियाका लाग गरिएको सम्झौता पत्र सार्वजनिक गर्दै नगरप्रमुख नरुलाल चौधरी लगायत । तस्विर : लीलाधर वली

लीलाधर वली 

घोराही, साउन १८ गते । दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ मा आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । घोराही उपमहानगरपालिकाले उज्यालो कार्यक्रम अन्तर्गत यस वर्ष पनि निःशुल्क आँखाको शल्यक्रियाका लागि सम्झौता गरेको हो ।

विगत ६ वर्षदेखि उज्यालो अभियान अन्तर्गत घोराही उपमहानगरपालिका र नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालसँग सम्झौता गरी मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया हुँदै आएको थियो । यस वर्षका लागि एक सय २५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि सम्झौता भएको राप्ती आँखा अस्पतालले जनाएको छ ।

सम्झौता पत्रमा राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतम, घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती र लेखा अधिकृत लोकमणि शर्माबीच भएको सम्झौतामा आर्थिक वर्ष ०८०÷०८१ मा कम्तिमा एक सय २५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गर्ने सहमति भएको हो । साझेदारी कार्यक्रम अन्तर्गत उपमहानगरपालिकाले एसआइसिएस प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया गरेमा अस्पताललाई प्रतिव्यक्ति ८ हजार उपलब्ध गराउने छ ।

त्यस्तै, सेवा प्रदायकले मोतियाबिन्दुको फेको प्रविधिबाट शल्यक्रिया गराउनु परेमा भने थप ५ हजार तिर्नुपर्ने सम्झौतमा उल्लेख छ । आर्थिक वर्ष ०७५-०७६ देखि सुरु भएको साझेदारी कार्यक्रमअन्तर्गत हालसम्म उपमहानगरपालिकाले ४ सय ९७ जनामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ । यस आर्थिक वर्षमा उपमहानगरपालिकाले २० लाख रकम छुट्याएको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जानकारी दिनुभएको छ । 

नगरप्रमुख नरुलाल चौधरीले निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवा पाउने सबै नागरिकको अधिकार भएको भन्दै आफूहरूले विगत ६ वर्ष पहिलेदेखि निःशुल्क आँखा उपचार सेवाकाका लागि सहयोग गर्दै आएको बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो, “नीतिगत रूपमै उपमहानगरपालिकाले मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने निर्णय गरेर बिरामीलाई सेवा दिदै आएको छ ।”