लक्ष्मण पौडेल
भैरहवा, साउन १७ गते । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । समयमा अस्पताल पु र्य ाउन नसक्दा त्यसबाट हुन सक्ने जोखिम कम गर्न र मातृ मृत्युदर हुन नदिन भन्दै नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा थालेको हो ।
नगरप्रमुख सजरुद्धिन मुसलमानले लुम्बिनी सांस्कृतिक नगरपालिकाभित्रका गर्भवतीलाई जुनसुकै अस्पताल जाँदा पनि एम्बुलेन्स शुल्क नलाग्ने बताउनुभयो । त्यसका लागि २४ सै घण्टा एम्बुलेन्स सेवा दिनेगरी नगरले तयारी गरेको उहाँको भनाइ छ । तर लुम्बिनीमा प्रसूति अस्पताल छैन ।
यही कारण यहाँका गर्भवती महिला सुत्केरी हुन भैरहवा र बुटवल पुग्ने गरेका छन् । एम्बुलेन्सको असुविधाले गर्भवती महिलाहरु समयमा अस्पताल पुग्न नसकेकाले निःशुल्क एम्बुलेन्स सेवा थालेको उपप्रमुख कल्पना हरिजनले बताउनुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा पाँच वटा एम्बुलेन्स छन् । पछिल्लो समय लुम्बिनी प्रदेश सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई तीनवटा एम्बुलेन्स प्रदान गरेको छ । ती एम्बुलेन्स लुम्बिनी स्वास्थ्य केन्द्र, खुदाबगर स्वास्थ्य चौकी र मसिना स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।