ललितपुर, साउन १६ गते । ललितपुर महानगरपालिकाले २०७९ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले छ वटा विद्यालयका १४ जना विद्यार्थीलाई सम्मान स्वरूप नगद प्रदान गर्नुभएको छ ।
सम्मानित हुने प्रत्येक विद्यालयले चार लाख प्राप्त गरेको छ भने सम्मानित विद्यार्थीले जनही दुई लाख प्राप्त गरेका छन् ।
सम्मानित हुनेमा जेम्स स्कुल, सेन्टमेरिज स्कुल, नाइटिङ्गेल स्कुल, डिएभि स्कुल र ब्राइट फ्यूचर स्कुल रहेका छन् । जेम्स स्कुलका आठ जना विद्यार्थीले एसईईमा ४ जिपिए ल्याएका छन् । आयुषा रेग्मी, अभिनव बस्नेत, अभ्युदय मान सिंह, अर्जित जोशी, बिराज भुसाल, प्रणय गोविन्द अमात्य, श्रद्धा गिरी र शिलु रञ्जित जेम्स स्कुलका विद्यार्थी हुनुहुन्छ । सेन्ट मेरिजकी छात्रा अदिति सुबेदीले एसईईमा ४ जिपिए ल्याउनुभएको हो । उत्सव झा र सुम्निमा घिमिरे २०७९ को एसईईमा चार जिपिए ल्याउने नाइटिङ्गेल स्कुलका विद्यार्थी हुनुहुन्छ ।
यसैगरी ४ जिपिए ल्याएर सम्मानित हुने डिएभी स्कुलकी आस्था ठाकुर, लिटिल एञ्जल्सकी आस्था पण्डित र ब्राइट फ्युचर स्कुलकी जेनिफर चौधरी हुनुहुन्छ ।
विद्यालय र विद्यार्थीले सम्मान गर्नुहुँदै महानगरका प्रमुख महर्जनले विद्यार्थी र विद्यालयलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मलाई दोस्रो पटक चुनाव जितेको दिनभन्दा पनि धेरै खुसी लागेको छ ।’’ उहाँले ललितपुर महानगर शिक्षा क्षेत्रको हब भएको बताउनुहुँदै महानगरले शैक्षिक गुणस्तर सुधारका लागि धेरै काम गरेको बताउनुभयो ।
यसैगरी, उपप्रमुख बज्राचार्यले सफल बन्ने र धनी बनाउने शिक्षा भन्दा खुसी र सीपयुक्त शिक्षामा महानगरले जोड दिएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले वर्तमान अवस्थामा पुस्तक पढेर लिने ज्ञान अपर्याप्त हुने बताउँदै तर्क गर्न सक्ने र सीपसहितको शिक्षा आवश्यक भएको प्रष्ट पार्नुभयो । महानगरले जीवन र समाज बुझ्न सिकाउने शिक्षालाई प्रथामिकतामा राखेको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा जेम्स स्कुलका संस्थापक अध्यक्ष राजेश खड्का, लिटिल एन्जल्सका प्रधानाध्यापक मुकुन्द शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।