• १० मंसिर २०८१, सोमबार

काँठमा छैन के !

blog

काठमाडौँ भूगोलको बाहिरी घेरोमा जन्मने/ हुर्कनेको आफ्नै पीडा छ । कसैले प्रतीकात्मक रूपमा काठमाडौँले यसो ग-यो भन्दा चित्त दुख्नु त छँदै छ, त्यस भूगोलको समस्यालाई उठाइदिने उपयुक्त पात्र नभेटिँदा लाग्ने दुःख अर्को छ । जब चुनाव आउँछ, यो भूगोलका मान्छे भन्छन्, “यसपालि स्थानीयबाहेकलाई भोट दिइन्न ।” अन्तिममा केही दलीय पात्र अमुक दलहरूले उभ्याएका तिनै पात्रलाई जिताउन कम्मर कसेर लाग्छन् । यसैको बिचमा पिसिन्छन् बाँकी मतदाता । 

यदाकदा स्थानीय उम्मेदवार उठाइन्छन् र चुनिन्छन् पनि तर तिनको कार्यशैलीसँग खुसी हुन्नन् यहाँका मान्छे । राजनीतिमा गरिखान निक्लिएका ती नेताले आफूले विविध कारणले गर्न नसकेको कामको अपजश त्यही भूगोलका बासिन्दालाई लगाउन थाल्छन् तर यहाँका बासिन्दा भने आफूलाई ठिक र आफ्नै भूगोलका मानिसलाई गलत देखाएर जोगिने परिपञ्च हो यो भन्छन् । 

काठमाडौँ मूल सहरभन्दा बाहिरको यही भूगोललाई धेरैले काँठ भनेर बुझ्ने गरेको पाइन्छ । काँठका मानिसका बारेमा धेरै प्रकारका किस्सा सुनाइन्छन् । पद्धतिसँग कुनै किसिमले समायोजित हुन नसक्ने अकडोका रूपमा चित्रण गर्छन् । यसमा सहर र गाउँलाई एकैसाथ देख्नु र दुवैको मिश्रित प्रभाव पर्नु मुख्य कारण हो भनिन्छ । यसैको आधारमा काँठको परिभाषा तयार गर्ने प्रयास गरिन्छ । कलम चलाउने केहीले सन्दर्भविशेष र व्यवहारजन्य पाटोबाट काँठको परिभाषा र व्याख्या गरेको पाइन्छ । यो आलेखको सन्दर्भ यसैको वरिपरि घुम्नु हो । काँठ भनेको सहरभन्दा केही बाहिरको ग्रामीण भूगोल हो र सहर तन्कँदै जाँदा काँठ मर्दै जान्छ भन्ने आमबुझाइ छ । काठमाडाैँ मात्र होइन, कास्कीलगायत केही जिल्लामा समेत यसैलाई टेकेर सहरबाहिरको भूभागलाई काँठ भन्न थालिएको पाइन्छ । तथापि सामान्यतः काँठ शब्दले काठमाडौँको यस्तै भूगोललाई बढी बुझिन्छ । यसमा सिर्जना भएका भ्रम भूगोललाई मात्र हेरेर काँठको परिभाषा खोज्नु हो किनकि यो दृष्टिकोणबाट सही निष्कर्षमा पुगिन्न । हिजो असन, इन्द्रचोकका लागि डिल्लीबजार नै काँठ थियो, जुन सरेर चाबहिल हुँदै आरुबारी पुग्यो वा यसै गरी वागेश्वरी, मच्छेगाउँ, फर्पिङतिर पुग्यो भन्ने हो भने काँठ मृत भइसक्यो भनी घोषणा गर्न मात्र बाँकी देखिन्छ । 

गैरनेवार बासिन्दालाई लिएर यसको परिभाषा खोजियो भने उपत्यकाका प्रत्येक गाउँमा स–सानो समूहमा रहेका नेवारलाई कसरी छुट्याउने ? उनीहरूमा परेको मिश्रित संस्कृतिको प्रभावलाई के नाम दिने ? केही लेखकले यहाँका बासिन्दाको आनिबानीका केही प्रतिनिधि उदाहरणलाई लिएर काँठको परिभाषा गरेको पनि पाइन्छ । त्योभन्दा पनि अगाडि बढेर काँठको कुनै संस्कृति, धर्म, परम्परा नै छैन भनी लेखिएको पनि भेटिएको छ ।

काठमाडौँको नेवार संस्कृतिको परिभाषा गर्न र यस्तो हो भनी छुट्याउन सजिलै सकिन्छ । यसो भन्दैमा नेवार बस्ती र बाहिरी घेरोमा रहेका बाहुन, क्षेत्री र दलित भनिएका समुदाय संस्कृतिविहीन नै हुन् त ? त्यही समुदायमा गाँसिएर रहेका स–साना नेवार बस्ती त्यो संस्कृतिका अङ्ग होइनन् ? अथवा नेपालका अन्य भूभागमा बसोबास गर्ने यो समुदायका मानिसको धर्म, संस्कृति, मूल्य, मान्यता र अभ्याससँग अन्तर केलाउन नसकेकै कारणबाट काँठेको मौलिक संस्कृति छैन भन्न खोजिएको हो ?

सुरु गर्छु संस्कृतिको मान्य परिभाषाबाट । धेरै किसिमका परिभाषाबाट केही सजिला शब्द सापट लिँदा परम्परादेखि निर्माण हुँदै आएको विश्वास, परम्परा, मूल्य, मान्यता, अभ्यास, जीवनशैली आदिको जोड वा कुल योगलाई संस्कृति भन्ने गरिन्छ । यही वृत्तमा बसेर काँठको परिभाषा खोज्ने हो भने यहाँको मौलिक विश्वास के हो, के कस्ता जीवित परम्परा छन्, कुनै विषयवस्तुलाई हेर्ने सामूहिक दृष्टिकोण के हो, ठिक र बेठिकबारेको समूहगत धारणा के हो, आमजीवनशैली के हो भन्ने पक्षहरू खोज्नुपर्ने हुन्छ । केही उदाहरण हेरौँ ः काठमाडौँको दक्षिण–पूर्वी कुनोमा गोदावरी पर्छ, जहाँ बाह्र वर्षमा मेला लाग्छ । त्यहाँ नित्य पूजाका परम्परा छन् र जीवनशैलीसँग जोडिएका कुरा छन् । दक्षिण–पश्चिम कुनामा रहेको मत्स्यनारायणदेखि उत्तरमा रहेका बुढानीलकण्ठ नारायण, इचङ्गु नारायण र विशङ्खु नारायणसँग जोडिएका रीतिरिवाज छन् । कागेश्वरी, वागद्वार, फूलचोकी आदि स्थानमा वर्षमा एक पटक लाग्ने मेला छन् । 

चुनदेवी मन्दिरमा गाईको दूध चढाउने परम्परादेखि मच्छिन्द्रनाथलाई गहुँ, मकै चढाउन जाने परम्परा जीवित छन् । बच्चा बिरामी हुँदा तीनतिर देवता थान (कोही नेपाल देवता) भन्दै ज्ञानेश्वर, भाटभटेनी र हारती मन्दिर (स्वयम्भू) मा पुग्ने गर्दछन् विशेषतः आमा । काठमाडौँका प्रत्येक स–साना खोल्साखोल्सी र नदीनालासँग जोडिएका धार्मिक प्रसङ्ग कति छन् कति । यी भए धार्मिक विश्वासका कुरा ।

अर्को तर्फ इतिहासको कालखण्डमा व्याख्या भएका केही स्थान छन्, जसको खोजी भएकै छैन । नेवारी शब्द ‘दाँ यानेकी पैसा र छेँ यानेकी घर’ बाट बनेको डाँछी होस् वा कीर्तिपुर क्षेत्रमा पर्ने भनिएको झुलनगर होस् अथवा काँठका विभिन्न भूभागमा जग्गा प्लटिङ वा इँटा पार्ने प्रयोजनका लागि खन्दा फेला परेका पुराना संरचनाको कुरा होस्, तिनको खोजी भएकै छैन । गोकर्ण क्षेत्रमा मृत्यु संस्कारमा किन शङ्ख बजाउँदैनन् 

हिन्दु ? उपत्यकाका धेरै ठाउँमा शिववाहन नारेर खेत किन जोतिन्न ? यी कुराको सङ्ग्रह गरिदिने कसले ? काठमाडौँलाई मन्दिरै मन्दिरको सहर भनिएको छ । यस वरिपरिका प्रत्येक जसो थुम्कामा पनि मन्दिर छन् । ती देवीदेवतासँग जोडिएका प्रसङ्ग पनि छन् ।

ग्रामीण जनजीवन भनेको खेतिपातीमा नै आश्रित हुन्छ । हिजो कङक्रिट जङ्गलको निर्माण हुनुअघि काँठका अधिकांश जग्गामा खेती हुन्थ्यो । गाई, भैँसी, भेडा, बाख्रा आदि पाल्ने चलन थियो । यो खेती प्रणालीको अङ्ग हो । अर्थशास्त्रीय मान्यताले भन्छ, अर्थोपार्जनको अवसर प्राप्त हुँदा व्यक्ति नयाँ पेसा र व्यवसायमा सर्छ । हिजो काँठको मान्छे खेती गथ्र्याे, पशुपालन गथ्र्यो र दूध वा तरकारी बोकेर सहर बजारमा बिव्रmी गर्न आउँथ्यो । जागिर कमै खान्थ्यो । व्यापार कमै गथ्र्यो । अवसर पाउनेहरू दरबार पसेर जजमानी वा अन्य सेवा पनि गर्थे । टन्न जग्गाजमिन हुने केही व्यक्तिको जमिनदारी जीवनशैली हुन्थ्यो । कम जग्गाजमिन भएका केही दलित भनिएका समुदायका मानिस उनीहरूसँग आश्रित हुन्थे । आज यही समुदाय व्यापार, व्यवसाय वा जागिरमा रमाएका छन् । यो समयले ल्याएको बदलाव हो । 

असारमा रोपाइँ हुँदा काँठमा गाउने असारे भाका बेग्लै छ । यसमा प्रयोग हुने शब्दहरू बेग्लै छन् । टन्न जग्गाजमिन हुँदा पनि बेसाउनु परेको दुःखको भाका बेग्लै छन् । बिहेमा गाउने रत्यौली भाकाका शब्द, लय र भावहरू बेग्लै छन् । रत्यौलीमा लाहुरे परम्परा र त्यसबाट व्यक्त गरिने भावनाका कथा पनि छन् । धार्मिक पर्वमा सिलोक गाउनेदेखि बिहेमा जगाउने खाँडो परम्परा छन् । मेला जात्रामा गाइने छुट्टै भाका छन् । 

काँठको संस्कृति खोज्दै जाँदा देखिने सबैभन्दा महत्वपूर्ण कुरा हो नदी सभ्यताको विषय । उपत्यकाको सबैभन्दा मुख्य नदी हो बागमती । बागमती नदीमा आएर जोडिएका अन्य खोला मात्र होइन, खोल्सीसँग जोडिएका परम्परा पनि छन् । हिमवत् खण्डको नेपाल महात्म्यमा बागमती नदीमा मात्र ८७ वटा तीर्थको नाम उल्लेख छ (नेपाल देशको इतिहास सङ्ग्रह : इन्टरनेट ) । खास तिथि वा पर्वमा त्यस्ता तीर्थमा स्नान गर्दा हत्यासम्मको पाप पनि पखालिने दाबी गरिएको पाइन्छ । 

हिन्दु सनातन परम्परासँग जोडिएका जनैपूर्णिमादेखि तिज, ऋषिपञ्चमी आदि चाडपर्वसँग नदीमा गरिने संस्कारहरू जोडिएका छन् । त्रिवेणीहरूमा घाट परम्परा र मन्दिर निर्माण मात्र होइन, बसोबास र नदी सम्बन्धको जोडसमेत स्पष्ट देखिन्छ । मृत्युपछिका विविध संस्कारसँग मात्र होइन, शुभकार्यपछिको प्रसाद विसर्जनका परम्परा नदीनालासँग जोडिएका छन् । यहाँ ब्राह्मण परम्परा मात्र होइन, सहरबाहिरको भूगोलमा बस्ने नेवारसमेत समान रूपमा जोडिएका पाइन्छन् । नेवारी संस्कृतिको अङ्ग बनेका कतिपय जात्रा पर्वसँग गैरनेवार समूह समान रूपमा जोडिने गरेको प्रसङ्ग पनि यहीँनेर जोड्नु उपयुक्त हुन्छ । स्वस्थानी कथा वा शाली नदी मेलामा नेवार संस्कृति र गैरनेवार संस्कृतिको सम्मिलन यसको प्रत्यक्ष उदाहरण हो ।

आनिबानी पनि संस्कृतिका अङ्ग मानिन्छन् । काँठका मानिसको भिन्न आनिबानी छ, जुन कतै मिल्दैन भनी दाबी गर्नेहरू पनि छन् । बोलिचाली र गीतको भाकासमेत ठाडो र निरसिलो भनिन्छ । सामाजिक विज्ञानका केही प्रख्यात सिद्धान्तको जगमा बसेर हेर्दा तिनलाई पुष्टि गर्न भने कठिन छ । माथि अलग प्रसङ्गमा उल्लेख गरिसकियो, यस क्षेत्रका केही पहुँच भएका मानिस दरबारको सेवा वा जजमानीमा रमाउँथे, जो निःसन्देह शक्तिको निकट हुन्थे । शक्तिको निकट हुनेहरूले सोही कारणबाट आफूमा कुनै किसिमको शक्तिको अनुभव गर्नु अन्यथा होइन । 

आफूलाई शक्तिशाली ठान्दा कमजोरमाथि हैकम चलाउने र बलियोसँग झुक्ने प्रवृत्ति आममानिसमा हुने आधारभूत चरित्र नै हो । तथापि यो काँठको मूलभूत चरित्र हो भन्नु पूर्वाग्रहभन्दा बढी होइन । एजी फ्य्राङ्कले विकसित र अल्पविकसित राष्ट्रको परनिर्भरताको व्याख्या गर्न प्रतिपादन गरेको सिद्धान्तलाई सन्दर्भमा लिएर मुख्य भूभाग र उपग्रह भूभागका रूपमा शासकीय केन्द्र र केन्द्रबाहिरको क्षेत्रलाई मान्ने हो भने यो सम्बन्ध सूत्रलाई काँठ र सहरसँग तुलना गर्दा पनि खासै अन्तर देखिन्न । नेपाली समाजमा भएका अन्य सामाजिक विकृतिलाई काँठमा मात्र थियो भनी अपव्याख्या गर्नु पनि उपयुक्त होइन । यस्तै बोल्ने शैली वा लवजमा भएको भेदका कारण बोलिचाली केही ठाडो सुनिनु अन्यथा होइन ।

माथिका सबै प्रसङ्ग र उदाहरण हेरिसकेपछि काँठको भूगोल के हो भन्ने प्रश्न गौण हुनु पर्छ किनकि सहरको विस्तारसँग काँठको परिभाषालाई अलमल्याउनु हुन्न । काठमाडौँको सबै भित्तासम्म सहरको विस्तार भयो भने काँठ सकिँदैन । बरु यसको मौलिक संस्कृति नै थिएन, छैन भन्ने तर्कसँग सहमत हुन थालियो भने काँठ मृत हुन्छ । 

बिहान कृषिकर्म गरेको कुनै व्यक्ति सहरमा सानोतिनो जागिर खान आउँदा उसको शरीरबाट आउने माटो, गोबर वा पसिनाको गन्धसँग जोडेर व्यङ्ग्य गरेपछि उसले प्रतिक्रिया जनाउनु अस्वाभाविक होइन । अनि जग्गाको मूल्य बढ्दै जाँदा जग्गा बेचेर व्यवहार मिलाउने प्रवृत्ति काँठको मात्र होइन । यिनै व्यवहारजन्य र परिस्थितिजन्य उदाहरणबाट काँठमा जन्मेहुर्केका मानिसले आफूलाई पृथक देखाउन खोज्नु पनि उपयुक्त होइन । 

समग्रमा काँठको मौलिक संस्कृति छ, सभ्यता र इतिहास पनि छ । यसलाई जोडेर काँठको समुचित परिभाषा गर्नु पर्छ । काँठमा सहर निर्माण हुँदैमा यहाँका मौलिक कुरा मास्नु भनेको साँच्चै काँठलाई मार्नु हो । काँठ जोगाउनु छ भने यहाँको संस्कृतिको अभिलेखीकरण गर्नु र पृथक सांस्कृतिक विम्बको निर्माण गर्नु पर्छ । मूर्धन्य लेखक जन्माएको काँठले सांस्कृतिक विम्ब निर्माण गरेर विद्वत समाजलाई दिनु पर्छ । काँठ कुनै संस्कृति र सम्पदाविहीन हो भनेर लेख्दै हिँड्नु आफ्नै अस्तित्वप्रति गरिने ‘महान्’ व्यङ्ग्य मात्र हो ।  

Author

विश्व कुइँकेल