इमानसिं राना
रामपुर, साउन ८ गते । अर्सा, सेल रोटी र बटुक भन्ने बित्तिकै चाडपर्व, विवाह र विशेष उत्सवमा तयार गरिने परिकारको रुपमा लिइन्छ । विशेष दिनका लागि मात्र होइन, पाल्पाको रामपुर ४ देवीस्थानमा दैनिक यी परिकार पाक्ने गर्छन् ।
आफ्नै घरमा अर्सा एण्ड रोटी हाउस सञ्चालन गर्नुभएका घनीमाया आलेले कोसेली पठाउन, खाजा खान तथा पाहुनाका लागि आवश्यक मौलिक परिकारको माग पूरा गर्दैै आउनुभएको छ । यही व्यवसाय नै अहिले जीविकोपार्जन र अम्दानीको माध्यम बनेको छ । ५८ वर्षीया आलेले चाडपर्व बाहेकका दिनमा २ हजार ५ सयदेखि ३ हजार ५ सयसम्मको परिकार विक्री हुँदैआएको बताउनुभयो ।
“चाडपर्व तथा मेला, उत्सवमा १० हजारदेखि १३ हजारसम्मको विक्री हुन्छ । अन्य दिनमा कम्तीमा पनि २ हजार ५ सय देखि ३ हजार ५ सयसम्मको कारोबार घरबाटै हुन्छ” आलेले भन्नुभयो, “परिकारहरु कोसेली पठाउन, खाजा खान तथा पाहुनाको लागि किन्न आउने धेरै छन् ।” सेल रोटी र बटुक चाँडै विग्रिने भएकाले मागअनुसार र अर्सा लामो समयसम्म रहने हुनाले दैनिक तयार गर्दैआएको उहाँले बताउनुभयो ।
विभिन्न पेशा व्यवसायको अनुभव लिनुभएका आलेले भन्नुभयो, “यसअघि मासु व्यवसाय, फेन्सी लगायतका व्यवसाय गरें । भनेजस्तो राम्रो आम्दानी भएन । अर्सा, बटुक र सेल रोटीको व्यवसायले मलाई राम्रो आम्दानी दिएको छ ।” सुरुमा परिकारहरु बनाएर बजार तथा कार्यक्रम हुने स्थानमा विक्रीका लागि हिड्नु भएका उहाँलाई अहिले घर बाटै माग पूरा गर्न हम्मेहम्मे पर्छ ।
विगतका क्षण सुनाउँदै उहाँले भन्नुभयो, “अहिले त फोनबाट अर्डर आउँछ । कतिपय खोज्दै आउनुहुन्छ । पकाएको परिकार सबै घरबाटै विक्री हुनेगरेको छ । तयार गरिदिए हुन्छ ।” आलेले २०७७ देखि स्थानीय रुपमै पाइने गेडागुडीबाट बटुक, राम्रो चामल, खुदोबाट अर्सा र सेल तयार गर्दै आउनुभएको छ ।
नबिग्रिने भएकाले विदेश रहेका आफन्तका लागि कोसेली पठाउन अर्सा रोटी लिन आउनेगरेको उहाँले बताउनुभयो । “मैले बनाएको अर्सा रोटी नेपालभित्र मात्र नभई विदेशमा पनि आफन्त मार्फत कोसेलीको रुपमा गइरहेको छ । सबैले राम्रो छ भन्दा अझ उत्साह थपिएको छ” उहाँले भन्नुभयो । पाल्पाको रामपुर मात्र नभइ स्याङ्जा, तनहुँ लगायतका स्थानबाट पनि तयारी अर्सा रोटी लिन पुग्ने ग्राहक रहेको उहाँले बताउनुभयो ।
कोसेलीको लागि मात्र नभई स्थानीयहरु खाजा नास्ताको लागि पनि रोटी लिन आउनेगरेको उहाँको भनाइ छ । मौलिक परिकारहरु माग आएमा देशका अन्य स्थानमा पनि पठाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
चाडपर्व, विवाहमा सेल, बटुक तथा अर्सा रोटी पकाउन सिक्नुभएका उहाँले कुनै तालिम भने लिनुभएको छैन । धेरैले सेल, बटुकसँगै अर्सा बनाउन सिकाउन अनुरोध गर्दैआएको भन्दै सिक्न चाहनेलाई सिकाएर अघि बढाउने चाहना रहेको बताउनुभयो । माग धेरै भएको समयमा परिवारका अन्य सदस्यहरुले साथ दिंदैआएको उहाँका छोरा भागीरथ आलेले बताउनुभयो ।