लीलाधर वली
घोराही, साउन ६ गते । नेकपा (एमाले) दाङले अग्रज किसान सहिद गुम्रा थारुको सम्झना गरेको छ । २०१७ साल साउन ६ गतेका दिन घोराही उपमहानगरपालिका वडा ३ बेल्वामा किसानहरुको पक्षमा आवाज उठाएको आरोपमा तत्कालिन प्रहरी प्रशासनले उहाँको हत्या गरेको थियो ।
सहिद थारुको सम्झनामा एमाले दाङले प्रत्येक वर्ष स्मृति दिवस मनाउँदैआएको छ । एमाले दाङले शनिवार किसान सहिद थारुको ६२ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरेर सम्झना गरेको हो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय गुम्रा थारुको योगदानको सम्झना गर्दै किसानको पक्षमा निडरताका साथ आवाज उठाउने थारुको योगदानलाई भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा एमाले अनुशासन आयोगका सदस्य छविलाल वलीले दाङको किसान आन्दोलनमा थारुको महत्वपूर्ण योगदान भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दाङको किसान आन्दोलनमा उहाँको ठुलो योगदान छ । उहाँहरुको योगदान र त्यागबाट हामी यहाँ आइपुगेका छौं ।’
एमाले दाङका उपाध्यक्ष राममणि पाण्डेयको अध्यक्षतामा भएको स्मृति दिवसका अवसरमा सहिद गुम्रा थारुका नाति शान्तराज चौधरी र पनाति मनोज चौधरीलाई कार्यक्रममा सम्मानित गरिएको छ ।