• २१ असार २०८१, शुक्रबार

बीपी स्मृति दिवसको अवसरमा अस्पताल परिसरमा वृक्षारोपण

blog

४१ औं विपी स्मृति दिवसको अवसरमा रामपुर अस्पताल परिसरमा वृक्षारोपण गरिँदै । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर, साउन ६ गते । 
४१औँ बीपी स्मृति दिवसको अवसरमा रामपुर अस्पताल परिसरमा वृक्षारोपण गरिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा नेपाली कांग्रेस रामपुर नगर कार्यसमिति रामपुर, पाल्पाले शनिबार बिहान वृक्षारोपण गरेको हो ।

अस्पताल भवनको उत्तर र पश्चिमतर्फको स्थानमा आँप, लिची तथा कपुर प्रजातिको बिरुवा लगाइएको छ । अस्पताल वरपरको वातावरण हरियाली बनाउनका लागि दिवसको अवसर पारेर वृक्षारोपण गरिएको कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराईले जानकारी दिनुभयो । रामपुर नगरपालिका ५ नं. वडा कार्यालयबाट प्राप्त फलफूल प्रजातिको बिरुवा तथा रामपुर सब-डिभिजन वन कार्यालयबाट प्राप्त कपुर तथा धुपीका बिरुवा लगाइएको हो ।

वृक्षारोपण पूर्व बीपीको सम्झनामा कार्यक्रम गरी उहाँको योगदानको विषयमा चर्चा गरिएको थियो  । नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहाले बीपीको आदर्श, राजनीति र दूरदर्शी सोच अहिलेको पुस्ताका लागि अनुकरणीय रहेको बताउनुभयो । नेपाली कांग्रेसका महासमिति सदस्य देवराज ढकालले बीपी कोइरालाले प्रजातन्त्र स्थापनाका लागि खेल्नु भएको भूमिका, मुलुकको विकासका लागि प्रतिपादन गर्नु भएको  समाजवादको चर्चा गर्नुभयो । कांग्रेस महासमिति सदस्य एवम् रामपुर नगर प्रमुख रमणबहादुर थापाले नेपाल मात्र नभै विश्वलाई गतिशील बनाउन बीपीले कोर्नु भएको समाजवादको मार्गले वर्तमान समाजलाई पनि उत्साह र उत्प्रेरणा प्रदान गरेको बताउनुभयो ।

नेपाल महिला सङ्घका केन्द्रीय सदस्य पवित्रा पौडेल ढकालले बीपी कोइराला बहुआयामिक व्यक्तित्व रहेको स्पष्ट पार्दै उहाँको मार्ग निर्देशलाई पालना गर्दै अघि बढ्न सके मात्र सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । नेपाल शिक्षक सङ्घ रामपुरका अध्यक्ष डोलराज रेग्मीले बीपीको सिद्धान्त अनुसरणसँगै समाजको रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बीपी जयन्ती तथा स्मृति दिवसका अवसरमा विगत देखि नै वृक्षारोपणको कार्य हुँदै आएको सन्दर्भमा बिरुवा कति लगायौँ भन्ने भन्दा पनि  कति बचाउन सफल भयौँ भन्ने विषय महत्त्वपूर्ण हुने बताउनुभयो ।

नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम उपसभापति देवबहादुर थापा मश्राङ्गीको स्वागत र सचिव ओम प्रकाश बस्यालको सञ्चालनमा भएको थियो ।