• २६ वैशाख २०८१, बुधबार

परिचयपत्र नभएका नेपालीलाई भारत जान रोक

blog

सिराज खान 

नेपालगन्ज, साउन ६ गते  । यहाँस्थित नेपाल–भारत नाका जमुनाहमा एक्कासि भारतीय सुरक्षाकर्मीले सुरक्षा जाँचमा कडाइ गर्दै सीमापारि जान आउनका लागि पहिचानसहितको आधिकारिक परिचयपत्र अनिवार्य गरेका छन् । 

एक दिन पहिलेसम्म सामान्य रूपमा जाँच गराएर दुवै देशका नागरिकहरू नाका वारपार गर्दै आएकामा बिहीबार अपराह्नदेखि नाकामा तैनाथ भारतीय सुरक्षा निकाय एसएसबीले एक्कासि सुरक्षामा कडाइ गर्दै नागरिकता वा अन्य कुनै आधिकारिक परिचयपत्र भएकालाई मात्र आवागमन गर्न दिइरहेका छन् । 

नेपालगन्ज उपमहानगरपालिका–११ का सुरेश कश्यप उपचारका लागि सीमापारि बहराइच जान शुक्रबार नाकामा पुग्दा उहाँलाई नागरिकता देखाएर मात्र जान पाउने भनी फिर्ता गरिएको कश्यपले बताउनुभयो । 

उहाँले नागरिकता नबोकेका धेरै नेपालीलाई एसएसबीले भारत छिर्न नदिएर फिर्ता पठाएको बताउनुभयो । कश्यपका अनुसार नागरिकता देखाएपछि पनि धेरै बेर केरकार गरेर मात्र प्रवेश दिने गरिएको बताउनुभयो । 

एसएसबीले नाका पार गर्ने नेपालीसँग नागरिकता र मतदाता परिचयपत्र माग्ने गरेको छ भने भारतीय नागरिकसँग आधार कार्ड माग्ने गरेको छ । नाकामा आवागमन गर्ने दुवै देशका नागरिकलाई कडा सुरक्षा जाँच गरेर मात्रै छोड्ने गरिएको पाइएको छ । 

नाकामा तैनाथ एसएसबीका एक जना अधिकारीसँग सोबारेमा जानकारी माग्दा केन्द्र सरकारले नेपाली नागरिकता वा अन्य पहिचानपत्रबिना प्रवेश गर्न नदिन आफूहरूलाई निर्देशन दिएकाले यस्तो गरिएको बताउनुभयो । 

उहाँले नाम प्रकाशित नगर्ने सर्तमा भन्नुभयो, “हामीलाई केन्द्रबाट जे आदेश आउँछ, हामीले त्यही नै पालना गर्ने हो । अहिले नाकामा अति नै कडाइ गर्नुका साथै नागरिकता नभएका नेपाली र आधार कार्ड नभएका भारतीयलाई प्रवेश गर्न नदिनु भनिएको छ, सोही गर्दै छौँ ।” 

सोबारेमा बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीसँग जानकारी माग्दा उहाँले परिचयपत्र देखाएर आउने जाने पहिलेबाट नै भइरहेको जनाउँदै सोबारेमा आधिकारिक रूपमा नयाँ जानकारी केही नआएको बताउनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नाकामा आवागमन गर्नेलाई परिचयपत्र देखाएर आवागमन गर्न दिने कुरा पहिलेदेखि नै भइरहेको विषय भएको बताउनुभयो । उहाँले सो नियमलाई अहिले भारतीय सुरक्षाकर्मीले कडा रूपमा कार्यान्वयन गरेको हुन सक्ने जनाउँदै  सोबारेमा जिल्ला प्रशासनलाई नयाँ कुनै जानकारी नआएको बताउनुभयो । प्रजिअ आचार्यले नाकामा समय अवस्था र परिस्थिति हेरेर सुरक्षा व्यवस्था मिलाउने दुवै देशको सुरक्षा निकायको आन्तरिक कार्य भएको पनि प्रस्ट पार्नुभयो ।