सिराज खान
नेपालगञ्ज, साउन ५ गते। बाँके जिल्लाका स्थानीय तहबाटै श्रम स्वीकृतिको प्रक्रिया सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार जिल्लाका स्थानीय तहबाटै श्रम स्वीकृति दिनेक्रम सुरु भएको हो। स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको हो।
बाँकेको सबैभन्दा दुर्गम र पिछिडिएको मानिने नरैनापुर गाउँपालिकाले शुक्रबारदेखि पालिकाबाटै श्रम स्वीकृतिको काम सुरु गरेको छ। गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीका अनुसार मन्त्रालयको परिपत्र अनुसार सो कार्य सुरु गरिएको हो।
उहाँले वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि काठमाडौं गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउन थालेको बताउनुभयो।
उहाँले थप्नुभयो, ‘‘यसअघि जिल्ला बाहिर गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो तर अब स्थानीय सरकारले नै सहजीकरण गरेर सेवा सुरु गरेपछि सहज भएको छ।’’ नरैनापुरबाट शुक्रवार पहिलो दिनमा ३ जनाले श्रम स्वीकृति पाएको गाउँपालिकाले जनाएको छ।
पालिकाका अनुसार श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर पालिकाको रोजगार केन्द्रमा आउनुपर्ने हुन्छ। सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिनेछ।
श्रम स्वीकृति सम्बन्धि सबै काम अनलाइनमार्फत गरेर केन्द्रमा पठाएर त्यहाँबाट स्वीकृत भएर आएको श्रम स्वीकृतिलाई प्रिन्ट गरेर दिने वा मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको जनाइएको छ।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालका अनुसार वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिनेछ।