• २४ पुस २०८१, बुधबार

अनुदानको मल पाउन कृषकलाई छैन सहज

blog

नारद कोहार

तौलिहवा, साउन ५ गते ।  कपिलवस्तुमा अनुदानको मल कृषकले पाउन मुस्किल हुने गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले अनुदानको मल सहकारीमार्फत बिक्रीवितरण गर्दै आइरहेको छ । 

अनुदानको मल सहकारीमार्फत वितरण भए पनि सहकारीकै पदाधिकारीले आफ्ना नजिकका वा नातेदारबाहेक कसैले सहज रूपमा प्राप्त गर्न नसकेको कृषकहरू बताउँछन् ।

कपिलवस्तु नगरपालिका–६ का कृषक जनार्दन यादवका अनुसार सामग्रीले वितरण गर्दै आएको मल सर्वसाधारण किसानलाई पाउन धेरै मुस्किल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामग्रीले सहकारीमार्फत वितरण गर्दै आएको मल सर्वसाधारण किसानले नपाउने तर एग्रोभेटमा कसरी पाइएको छ ?” अनुदानको मल एग्रोभेटले पाउने वास्तविक कृषकले किन नपाउने उहाँले प्रश्न गर्नुभयो ।

सरकारले दिएको अनुदानको मल एग्रोभेटहरूले डिएपीको तीन हजारदेखि तीन हजार आठ सयसम्म लिने गरेको कृषक बताउँछन् । कपिलवस्तु नगरपालिका–६, थुम्हवाका राममिलन धोबीका अनुसार अनुदानको मल नपाएर भारतीय बजारबाट चर्को मूल्यमा किनेर ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “खेत रोपेर एक साता बितिसक्यो तर मल पाउने कुनै छाँटकाँट नदेखेपछि भारतबाट आयात गरिने मलखाद खरिद गरेको हो ।”

कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखाका प्रमुख नरहरि पोखरेलका अनुसार सामग्रीमा आएको मल सहकारीमार्फत वितरण गर्दै आएको बताउनुभयो । उहाँले सोमबारदेखि केन्द्रीय परिपत्र अनुसार अर्को आदेश नआएसम्म जिल्लामा मलखादको बिक्रीवितरण बन्द गरिएको बताउनुभयो । 

तौलिहवा शाखाले १५४ सहकारीमार्फत अनुदानको मल बिक्रीवितरण गर्दै आएको उहाँले बताउनुभयो । यहाँ वार्षिक रूपमा २० हजार मेट्रिक टन युरिया र १५ हजार मेट्रिक टन डिएपी मल खपत हुने गरेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवा शाखाले जिल्लाको कपिलवस्तु, वाणगङ्गा नगरपालिका, शुद्धोधन, मायादेवी र यशोधरा गाउँपालिका हेर्ने गरेको छ ।