• १५ मंसिर २०८१, शनिबार

महमा बाँके आत्मनिर्भर, निर्यात सुरु

blog

सिराज खान

नेपालगन्ज, साउन ५ गते । धेरै जसो वस्तु र पदार्थमा परनिर्भर रहेको बाँके जिल्ला मह उत्पादनमा भने आत्मनिर्भर भई अन्य जिल्लामा निर्यातसमेत गर्न सफल भएको छ । 

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमदले पछिल्लो समयमा बाँकेमा मह उत्पादन सोचेभन्दा बढी भएकाले यो जिल्ला मह उत्पादनमा आत्मनिर्भर बनेको बताउनुभयो ।  उहाँले जिल्लाको माग र आवश्यकताभन्दा पनि बढी मह उत्पादन हुन थालेपछि यहाँबाट अन्य जिल्लामा समेत मह निर्यात गर्न थालिएको जनाउनुभयो । 

प्रमुख अहमदले थप्नुभयो, “बाँकेका किसान मह उत्पादनमा आत्मनिर्भर मात्रै होइन, अन्य जिल्लामा निर्यात गर्न पनि सफल भएका छन् । कुनै पनि उत्पादनमा आत्मनिर्भर हुनु र अन्य जिल्लामा समेत निर्यात गर्न सक्नु आर्थिक विकासका लागि निकै ठुलो उपलब्धि हो ।” कृषि ज्ञान केन्द्रका कृषि फोकल पर्सन अनिश श्रेष्ठले जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकोले यहाँका किसानले निर्यात गरिरहेको बताउनुभयो । उहाँले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएकाले बजारीकरणका लागि योजना बनिरहेको बताउनुभयो । 

कृषि ज्ञान केन्द्रले मौरी प्रवर्धन कार्यक्रम अन्तर्गत जिल्लाका मौरीपालक किसानलाई अनुदान र तालिम दिनुका साथै मह उत्पादनमा सहजीकरणसमेत गरिरहेको छ । सोही कारणले उत्पादन बढ्दै गएको किसानको भनाइ छ । 

वार्षिक ३५ देखि ४० क्विन्टलसम्म मह उत्पादन गर्दै आएका कोहलपुर–११ स्थित सञ्जीवनी मौरी फार्मका सञ्चालक लीलबहादुर रानाले बाँकेमा उत्पादित महको बजारीकरणमा समस्या रहेको बताउनुभयो । 

उहाँले जिल्लामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजिदिन कृषि ज्ञान केन्द्रसँग अनुरोध गरेको जनाउनुभयो । 

किसान रानाले थप्नुभयो, “उत्पादित महले बजार पाउन नसक्दा उत्पादन बढाउन सकिएको छैन । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिने छ ।”

जिल्लामा रैथाने उत्पादनको प्रवर्धन, संरक्षणमा सक्रिय रहेका अगुवा किसान पुरमल बस्नेतले मह जिल्लाको मागभन्दा बढी उत्पादन भइरहेको बताउनुभयो ।  उहाँले नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुका साथै सबै कृषि उत्पादनमा रैथानेको प्रवर्धन र उन्नत बनाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो । 

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख अहमदले जिल्लामा विभिन्न समूहमार्फत ५० जना किसानले वार्षिक २० टन मह उत्पादन गरिरहेको बताउनुभएको छ । उहाँले एक जना किसानले ५० देखि सय क्विन्टलसम्म मह उत्पादन गरिरहेको जनाउँदै बजारीकरणको राम्रो व्यवस्था हुन जरुरी रहेको बताउनुभयो ।