• १५ चैत २०८०, बिहिबार

लुम्बिनीमा हराउँछन् बर्सेनि लाखौँका बोटबिरुवा

blog

भुवन कार्की

रुपन्देही, साउन ३ गते  । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको लामो चर्चा हुने गरेको भए पनि लुम्बिनी गुरुयोजना अनुसारको काम हालसम्म पनि पूरा हुन सकेको छैन। लुम्बिनी विकासको परिकल्पनाकार जापानी प्राध्यापक कान्जो टाँगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना सरकारलाई हस्तान्तरण गरेका थिए। 

छ वर्ष लगाएर बनेको गुरुयोजना सन् १९९५ मै सक्ने लक्ष्य थियो। गुरुयोजना हस्तान्तरण भएको ४५ वर्ष पुगेको छ तर गुरुयोजनाको काम पूरा भएको छैन। गुरुयोजनाको ८६ प्रतिशत काम सकिएको विकास कोषका पदाधिकारीको दाबी छ तर पदाधिकारीको दाबीलाई पुरातत्वविद्हरूले स्वीकारेका छैनन्।

बौद्ध धर्म ग्रन्थमा लुम्बिनी हराभरा र फलफूलको बगैँचा थियो भनेर पढ्न पाइन्छ। त्यही बौद्ध ग्रन्थमा उल्लेख भएझैँ लुम्बिनीलाई फलफूलको सुन्दर बगैँचा बनाउने गरी थालिएको अभियान पनि पूरा हुन सकेको छैन।

लुम्बिनीमा प्रायः बर्सेनि वृक्षरोपण गरिन्छ। लुम्बिनी विकास कोषले आर्थिक वर्ष २०७७/७८ मा दया जेभी नामक कम्पनीका ठेकेदारलाई २५ हजार फलफूलका बिरुवा लगाउन ठेक्का लगायो। गौतमबुद्ध फलफूल वाटिका नाम दिएर ती बिरुवा पनि रोपिए। यो ठेक्काभन्दा बाहिर विभिन्न सङ्घ संस्थाले चार हजार ६९९ वटा फलफूलका बिरुवा लगाइए। आँप, लिची, जामुन, अनार, अम्बा, कागती, कटहर र बयर लगाएको विकास कोषको तथ्याङ्कमा छ। बिरुवा लगाउन दया निर्माण सेवालाई ठेक्का दिइयो। त्यति बेला २१ हजार फलफूलका बिरुवा लगाएको भन्ने वनस्पति शाखामा रेकर्ड छ। 

भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण कम्पनी गावर कन्स्ट्रक्सनले निःशुल्क २९ हजार बिरुवा लगाएको दाबी छ। विकास कोषले प्रधानमन्त्री प्लट र मुख्यमन्त्री प्लट गरी छुट्याएर नै फलफूलका बिरुवा रोपेका छन्। कोषमा विदेशीहरूले पनि वृक्षरोपण गरेका छन्। विदेशीका लागि भने बिरुवाको रेखदेख, संरक्षण मलजल गर्ने गरी २५० डलर शुल्क अग्रिम लिएर मात्रै रोप्ने अनुमति पाएका छन्। विकास कोषमा चार तहको सुरक्षा व्यवस्था छ तर सुरक्षा व्यवस्था चुस्तदुरुस्त नहुँदा मानिसले बिरुवा र तार जाली चोर्नेदेखि छाडा चौपायाले फलफूलका बिरुवा खाएर ठाउँ उजाड छ। आन्तरिक सुरक्षाकर्मी ७३ जना र माली ६२ जना छन्। यी माथि उल्लेख गरिएका निकाय, व्यक्तिले रोपण गरेको बिरुवा हाल लुम्बिनी क्षेत्रमा कहीँकतै देखिँदैनन्। 

बर्सेनि लाखौँ मूल्य पर्ने फलफूलका बिरुवा हराउँदा विकास कोष बेखबर छ। कतिपय बिरुवा संरक्षणको अभावमा मर्ने गरेका छन्। विकास कोषले फलफूलका बिरुवा लगाउँदा माटोको गुणस्तर जाँच नगरी हचुवाको भरमा लगाउँदा बिरुवा नसप्रेको र मर्ने गरेको स्थानीय मेघनाथ आचार्य बताउनुहुन्छ। सबै प्रकारका बिरुवा सुहाउँदो माटो नहुने भन्दै माटो अनुसन्धान नगरी लगाउने गरिएको आचार्यको भनाइ छ। 

लुम्बिनीको संरक्षण गर्ने काम स्थानीयको भएता पनि अपनत्व बोध हुने कार्य लुम्बिनी विकास कोषले नगरेको स्थानीय विजय सिंहको भनाइ छ। विकास कोषले स्थानीयसँग सहकार्य गरेर काम गर्न नसकेको गुनासो पनि सिंहले गर्नुभयो। अर्का स्थानीय विष्णु बस्नेतले विकास कोषले स्थानीयलाई उपेक्षा गरेको बताउनुभयो। 

विकास कोषले हरेक वर्ष लाखाैँ रुपियाँ खर्च गरेर फलफूल तथा वृक्षरोपण गर्ने गरे पनि संरक्षणको अभावले हरियाली बन्न नसकेको स्थानीय कृष्ण गुरुङ बताउनुहुन्छ। विकास कोषमा तलब भत्ता खाने तर काम लगाउन नसक्ने प्रवृत्तिले लाखौँ खर्च गरेर रोपिएका बिरुवा घाँसभित्र हराउने, सुक्ने भएको र छाडा चौपायाले क्षति पु-याएको गुरुङले बताउनुभयो।

विकास कोषको ४ र ५ नं. प्लटमा यस वर्ष आगो लागेर बिरुवाहरू जलेको स्थानीय बताउँछन्। आगजनीबाट हजारौँ बिरुवा जलेका छन्। ठेक्का लगाएको र विभिन्न सङ्घ संस्थाले लगाएको क्षेत्रमा रोपिएका बिरुवा फस्टाउन सकेका छैनन्। ५८ बिघा क्षेत्रफलमा फैलिएको लुम्बिनी परिसरमा विकास कोषकै केही पदाधिकारीको मिलेमतोमा खडेरीको समयमा बर्सेनि आगो लगाउने र वर्षा याममा टेन्डर गरेर बोटबिरुवा रोप्ने गर्ने गरिएको पनि कोषका केही कर्मचारीले आरोप लगाएका छन्। टेन्डरमा चलखेल गर्नकै लागि यस्तो गर्ने गरिएको कर्मचारीको दाबी छ। हालसम्म करिब चार करोडको लगानीमा बोटबिरुवा रोप्ने काम गरिएको छ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बिरुवा संरक्षणका लागि सक्दो प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “बोटबिरुवा संरक्षणमा सक्दो प्रयास गरिएको छ। हराउने, चोरी हुने भएको होइन बरु गर्मी मौसममा आगलागीबाट जोगाउन मुस्किल पर्ने गरेको छ। उहाँले आगलागीबाट बिरुवा मर्ने गरेको स्वीकार गर्नुभयो। 

विकास कोषका वनस्पति शाखा प्रमुख कमलेसप्रसाद बर्माले हेरचाहका लागि सुरक्षाकर्मी र मालीको व्यवस्था भएता पनि पर्याप्त रूपमा बिरुवा संरक्षण गर्न नसकिएको स्वीकार गर्नुभयो। उहाँले स्थानीयले घाँस, दाउराका लागि तार जाली हटाउने गर्दा संरक्षणमा समस्या आएको बताउँदै कोषमा नियुक्त कर्मचारी राजनीति आस्थाले आउने हुँदा काममा लगाउन पनि कठिन हुने गरेको बताउनुभयो। सामाजिक सङ्घ संस्था, उच्चपदस्थ व्यक्ति र विदेशीले बिरुवा रोप्ने गरेको भए पनि संरक्षणमा भने चुनौती रहेको बर्माको भनाइ छ।

लुम्बिनीमा करिब ६५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ। बिरुवाको प्रजाति हेरेर तीनदेखि पाँच मिटरको दुरीमा बोटबिरुवा रोप्ने गरिएको छ।