• ८ वैशाख २०८१, शनिबार

घरेलु साधन लोप हुँदै

blog

पाल्पा समाचारदाता 

पाल्पा, साउन ३ गते । अघिल्लो पुस्ताको दैनिक जीवनलाई सहज बनाउने गरी प्रयोगमा ल्याइएका घरेलु साधनहरू लोप हुन थालेका छन्। यसरी लोप भएको साधनमा दुई/तीन दशकअघिसम्म यहाँको जनजीवनमा प्रयोगमा आउँदै गरेको तेल पेल्ने घरेलु मेसिन (कोल) लोप भएको हो। तेल पेल्न प्रयोग गरिएका ढुङ्गा र काठको कोल लोप भएको पाल्पाका स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। पहिले तेल पेल्न प्रयोगमा आएका ढुङ्गा र काठका कोल लोप भएको माथागढी–३, भैसकट्ठाका स्थानीय बासिन्दा रनबहादुर घर्तीमगरले बताउनुभयो।

तोरीलगायतका दाना पेलेर तेल निकाल्ने मेसिनको सहज उपलब्धता नहुँदासम्म ढुङ्गा र काठका कोलमा तोरी, सस्र्र्युं, आलस, चिउरी पेलेर तेल निकाल्ने प्रचलन थियो। तर, पछिल्लो एक दशकयता यस्ता परम्परागत घरेलु मेसिनको प्रयोग हुन छाडेको घर्तीमगरले बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो पुर्खाले तेल पेल्न प्रयोग गरेका घरेलु मेसिन लोप भइसकेका छन्, अहिले आधुनिक मेसिनबाट तेल पेलिन्छ।” आधुनिक मेसिन र तेल किनेर खाने प्रचलन बढेपछि पुराना घरेलु मेसिन लोप भएको उहाँले बताउनुभयो। अघिल्लो पुस्ताले प्रयोग गरेका घरेलु कोल मेसिन केही वर्षअघिसम्म ग्रामीण भेगका अधिकांश स्थानमा देखिन्थे। दोबाटो, कुनै सार्वजनिक स्थल, भन्ज्याङ तथा मान्छेलाई सहज हुने बिच स्थानमा यस्ता मेसिन स्थापना गर्ने र गाँड्ने प्रचलन थियो। अहिले ती स्थानमा राखिएका अधिकांश कोलको संरक्षण हुन नसक्दा हराएका छन् भने कतिपय जीर्ण बनेको माथागढी–३ का वडा सदस्य मानबहादुर रानाले बताउनुभयो। 

कोल मात्र होइन, कुटानी–पिसानीका अन्य घरेलु मेसिन समेत बिस्तारै लोप भएका छन्। ढिकी, जाँतो, ओखल, सिलौटासमेत बिस्तारै लोप हुँदै गएका छन्। ब्याट्री र विद्युतीय मेसिनबाट सञ्चालन हुने आधुनिक मेसिन भित्रिएपछि परम्परागत घरेलु मेसिन लोप हुँदै गएको पाल्पाका आदिवासी जनजाति नेता गमबहादुर थापाले बताउनुभयो। जनजाति समुदायले प्रयोग गर्दै आएका घरेलु मेसिनलाई परिमार्जन गर्न नसक्दा लोप हुँदै गएको उहाँले बताउनुभयो। 

केही वर्षपछि नेपालीले प्रयोग गर्ने घरेलु मेसिन पूर्ण रूपमा लोप हुने र पूरै आयातित मेसिनबाट घर भरिने पुराना पुस्ताको चिन्ता छ। पहिले दुःख गरेर भए पनि मानिस आफूलाई चाहिने घरेलु मेसिनमा आत्मनिर्भर थिए। पछिल्लो समय नयाँ पुस्तालाई नयाँ प्रविधिले सजिलो बनाए पनि आफ्नो मौलिकता र स्थानीय प्रविधिको विकासमा भने असर गरेको संस्कृतिविद् निर्मल श्रेष्ठले बताउनुभयो। यस्ता प्रविधिका बारेमा अध्ययन अनुसन्धान र परिमार्जन हुन नसक्दा लोप भएको उहाँले बताउनुभयो।