लीलाधर वली
घोराही, साउन ३ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।
रुपन्देहीको भैरहवाबाट रासायनिक मल लिएर बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक लमही नगरपालिका वडा नम्बर ९ स्थित शिवखोलाको पुलबाट खोलामा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले पुलमा रहेको खाल्टो छल्ने क्रममा अनियन्त्रित भएर ट्रक खोलामा खसेको हुन सक्ने जानकारी दिनुभएको छ ।
उहाँका अनुसार ट्रक खोलामा बुधबार बिहान ४ः३० बजेको समयमा खसेको थियो । दुर्घटनामा ट्रक चालक रुपन्देही मायादेवी गाउँपालिका ६ निवासी चालक वसन्त लोनिया र रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिका ७ निवासी प्रदीपकुमार लाेनिया घाइते हुनुभएको छ ।
उहाँको उद्धारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिनुभएको छ ।
घाइते चालक लोनियाको ट्रकले च्यापेको अवस्थामा उद्धार गरिएको थियो । उद्धार कार्यमा प्रहरी, नेपाली सेनालगायतका खटिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।