काठमाडौं, साउन १ गते । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले सङ्घीय संसद् सचिवालयमा सम्पत्ति विवरण बुझाउनुभएको छ । उपाध्यक्ष अर्यालले आज (सोमबार) सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण बुझाउनु भएको हो ।
उहाँले बुझाउनु भएको सम्पत्ति विवरणको दर्ता नं. १ रहेको छ । सम्पत्ति विवरण बुझाउनुका साथै उहाँले आफ्नो सम्पत्ति सार्वजनिक पनि गर्नुभएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनका लागि सार्वजनिक पदमा रहेका हरेक व्यक्तिले हरेक आर्थिक वर्षको व्यक्तिगत सम्पत्ति विवरण बुझाउनु पर्ने हुन्छ ।
यसैबीच सङ्घीय संसद् सचिवालयले एक सूचना प्रकाशित गरी साउन १ गतेदेखि भदौ २८ गतेभित्र सम्पत्ति विवरण बुझाउन सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूलाई अनुरोध गरेको छ ।