• १२ मंसिर २०८१, बुधबार

टुङ्गोमा पुगोस् भ्रष्टाचार प्रकरण

blog

करिब एक महिना अगाडिको कुरा हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रेस सेन्टर नेपालको साधारण सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा पङ्क्तिकारले आयोजकलाई पाँच मिनेट समय माग गरेको थियो। त्यहाँ प्रधानमन्त्रीलाई पाँच मिनेटमा सार्वजनिक रूपमा दन्त्य कथा सुनाउँछु भन्ने पङ्क्तिकारको विचार थियो। आयोजकको समय अभावले हो वा कथाको महìव नबुझेर समय उपलब्ध गराएनन्। भोलिपल्टको कार्यक्रममा मलाई बोल्न दिइयो। प्रधानमन्त्रीको उपस्थिति नभएकाले मैले त्यहाँ यो कथा सुनाउने जरुरत सम्झिनँ। हुन त प्रचण्ड प्रधानमन्त्री भएदेखि नै मैले यो कथा सुनाउने विचार गरेको थिएँ तर त्यस्तो अवसर मिलेन। अब मिल्छ मिल्दैन भनेर नै मैले यो कथाको माध्यमबाट यो लेख सार्वजनिक गर्दैछु।

प्रधानमन्त्री प्रचण्डले संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीको रूपमा अन्तिम ‘इनिङ’ भनेर एकाध पटक दोहो-याउनुभएको छ। यो वाक्यलाई कतिले ख्याल गरे गरेनन् त्यो त थाहा भएन तर संसद्को अभिलेख पल्टाएर सुन्यो भने हेक्का हुन्छ। यही कुरालाई महत्व दिएर कथा सुनाउन खोजेको थिएँ। कथा यस्तो छ,

एकादेशमा सत्तलसिंह नाम गरेका एउटा राजा थिए। एकदिन राजा फौजको लावालस्कर, बन्दोबस्तीको सामानसहित सिकार खेल्न जङ्गल गएछन्। दुर्भाग्यवश जङ्गलमा सिकार पनि पाइएन र राजा पनि जङ्गलमा हराएछन्। धेरै खोजी गर्दा पनि राजा नभेट्टिए पछि सिकार गर्न गएको लावालस्कर दरबार फर्कियो। लावालस्कर फर्किने बाटोमा कतै राजा आइपुग्लान् र बाटो भेट्टाउन सजिलो होस् भनेर उनीहरूले दुई वाक्यको यस्तो सङ्केत लेखेर छोडेछन्, ‘सुरो छौ त सत्तलसिंह राजा हामीतिर आऊ। काँतर छौ त सत्तलसिंह राजा लोहासुरको बाटो जाऊ।’

राजालाई लेखेको यो सन्देश जङ्गलमा गोठालाहरूले पहिले देखेछन्। उरन्ठेउला गोठालाले यो सन्देशलाई ठिक उल्टो पारेर लेखेछन्, ‘सुरो छौ त सत्तलसिंह राजा लोहासुरको बाटो जाऊ। काँतर छौ त सत्तलसिंह राजा हामीतिर आऊ।’ यसरी उल्टो लेखेर त्यही ठाउँमा राखिदिए। केही समयपछि राजा त्यहाँ आइपुगे। भारदारले लेखेको होला भनेर पढे। राजा न हुन् उनलाई ‘काँतर छौ त हामीतिर आऊ’ लेखेको वाक्यले विचलित र उत्तेजति बनायो। दरबारियाले लेखेको भनिएको बाटो जान उनको महत्वाकाङ्क्षाले मानेन। सुरवीर हुनका लागि सिधै दरबारिया गएको बाटो नगएर काँतरको पगरी नगुथ्न लोहासुरको बाटो लाग्ने विचार गरे।

त्यो घनघोर जङ्गलमा लोहासुर नाम गरेको एउटा राक्षस बस्दो रहेछ। त्यो राक्षसले खाजा मात्रै १० मुरी फलामको चिउरा खाने। अट्टाहास लगाउँदा पूरै जङ्गल थर्किने। कसैले मार्न नसकेको अजङ्गको लोहासुरको बाटो लागेपछि राजा पनि नराम्रोसँग फसे तर उनको महत्वाकाङ्क्षाले फर्किएर काँतर भनी कहलाउन पनि दिँदैनथ्यो। अनेक सहयोग, जुक्तिबुद्धि लगाएर राजाले लोहासुरको वध गरे  र देश पुगे त्यहाँ उनको ठुलो सम्मान भयो। प्रजा पनि राजाको पराक्रम देखेर गदगद भए। कथाको सारसङ्क्षेप यति नै हो।

यतिखेर प्रधानमन्त्री प्रचण्ड त्यही सत्तलसिंह राजाको नियतिमा हुनुहुन्छ। देशको भ्रष्टाचार लोहासुरको आयतनभन्दा पनि ठुलो छ। एउटै बालुवाटार (ललिता निवास) भ्रष्टाचार प्रकरणमा मात्र चार सय बढी आरोपी पुगिसकेका छन्। तीन दर्जन बढी नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले नै तानिएका छन्। यी दुई काण्डमा मात्र ‘हाइ प्रोफाइल’हरू दर्जनौँको सङ्ख्यामा जोडिएका छन्। यिनलाई चोख्याउने प्रपञ्च गरेको खण्डमा भोलि तिनले सत्ताको साँचो प्रचण्डको हातबाट खोसेर उनलाई नै सिकार बनाउने निश्चित छ। जनता जनार्दनको आँखाबाट त सदाका लागि अस्ताउनु पर्ने छ।

संसद्मा उपस्थित हात्ती पार्टीविरुद्ध जाने गणित माओवादी पार्टीसँग छँदै छैन। अहिल्यै पनि भ्रष्टाचारविरुद्ध विषयान्तर गर्ने नाजायज प्रयास ती दलहरूबाट भइरहेको छ। झिनामसिना मुद्दा जन्मसिद्धका सन्तानलाई नागरिकता दिने विषय, अमुक प्राध्यापकले चुटाइ खाएको विषय भ्रष्टाचारको मुद्दालाई विषयान्तर गर्ने प्रतिपक्षी पार्टीको सूची हुँदै आएको छ। यसको प्रतिवाद सत्ता साझेदार दलले एक मतले दिन सकेकै होइन। माओवादी पार्टी भित्रैबाट पनि प्रतिवाद जुन हदमा हुनुपर्ने हो त्यो हदमा भएको छैन। धेरै माओवादी नेताहरूले मौन व्रत धारण गरेका छन्।     

मुर्दा शान्ति 

यतिखेर देश शान्त छ। यसको अर्थ यो होइन कि भ्रष्टाचार प्रकरण सामसुम होस् या अन्यत्र मोडिन्छ। भ्रष्टाचार प्रकरणलाई यथार्थ निष्कर्षमा पु-याउन नसकेको अवस्थामा के हुन्छ अहिले नै भन्न सकिने स्थिति छैन। मुलुकका निम्ति यो गम्भीर घुम्ती हो। प्रचण्डले यतिखेर सत्तलसिंहले एउटा राक्षसलाई वध गरे जत्तिकै काल्पनिक कुरा मात्र यो प्रकरण सम्बन्धित होइन। यथार्थ धरातलमा देखिएको दशकौँदेखिको यो बेथिति हो। भ्रष्टाचारविरुद्धको नयाँ विद्रोह गर्नु जत्तिकै यो प्रकरण गम्भीर छ। यो बेथितिको अन्त्य गर्नुको अर्को विकल्प प्रधानमन्त्री प्रचण्डसँग छैन। 

प्रधानमन्त्रीले यतिखेरसम्म शङ्काको सुविधा मात्र पाउनुभएको छ। भ्रष्टाचार विरोधी यो अभियान हो होइन अहिलेसम्म आमसमुदायमा विश्वास पलाइसकेको छैन। आमसमुदायको नजरमा यो अभियानलाई सकारात्मक चक्षुले हेर्ने गरिएको कमै पाइएको छ। अमुक दल र नेतालाई दबाबमा राख्न वा प्रतिषोध साँध्नका लागि गरिएको कारबाहीको रूपमा बहुप्रचारित छ। साना माछा समाएर ठुला माछालाई उन्मुक्ति दिन खोजिएको रूपमा पनि प्रचारमा छ। घटनाका मतियारलाई बलिको बोको बनाएर घटना सामसुम पारिने अड्कलबाजी पनि त्यत्तिकै चर्चामा छ। केवल सत्तासाझेदार दललाई कज्याउन ल्याइएको तुरूप हो भन्ने विषयको खण्डन पनि भइसकेको छैन। 

अनुसन्धान गर्ने प्रहरीमा केही भरोसा जनताले देखाउन थालेका छन्। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा थुनामा राखेर आरोपीलाई अनुसन्धान गर्न र बाँकी अनुसन्धान पूरा गर्न दिएको निर्देशनलाई मात्र जनताले आशा पलाएको अर्थमा लिएका छन्। यो सँगसँगै उपल्लो अदालतमा पुगेपछि मुद्दा ढिसमिस हुने हो कि भन्नेमा समुदाय अझै सशङ्कित छन् अदालतका विगतका फैसला हेरेर।  

रहलपहल 

भ्रष्टाचारको यो नालीबेली यतिमै सीमित हुने विषय पनि त्यत्तिकै घातक हुने छ। जति भ्रष्टाचारका फाइल खुल्दै जाने छ त्यति नै हाइ प्रोफाइल नेता, व्यापारी, उद्योगपति तानिँदै जाने छन्। आसेपासे पुँजीवादमा विचरण भइरहेको मुलुकमा भ्रष्टाचारको निर्मलीकरण त्यति सहज कार्यक्रम भने हुँदै होइन। अहिले त एकाध अनियमितताको फाइल खोल्दा वा अनुसन्धान गर्दा मात्र पनि राष्ट्रिय हडकम्प मच्चिएको छ। यसरी नै बहुदलीय व्यवस्था पुनस्र्थापना पछिका फाइल खोल्दै जाँदा मुख्य राजनीतिक दलका असङ्ख्य नेता, कैयौँ कर्मचारी चिसो छिँडीको बास हुने निश्चित छ।

प्रधानमन्त्री प्रचण्डलाई लोहासुरको बाटो जानेबाहेक अर्को मार्ग बन्द छ। भ्रष्टाचार प्रकरणको उठान त भएको छ तर यसको बैठान कसरी हुन्छ त्यही समयमा यसको औचित्य साबित हुने छ। यतिखेर राज्यका तीन अङ्ग नै अविश्वसनीय भइरहेको बेला यसको तापक्रमको अन्दाज गर्न कठिन छ। नेताहरूले भन्दै गरेको ‘सच्चिने कि सक्किने’ भ्रष्टाचार प्रकरणको पटाक्षेप भएपछि मात्र थाहा लाग्ने छ। 

लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ।

  

Author

भवानी बराल