• १४ मंसिर २०८१, शुक्रबार

गुणस्तरहीन कालोपत्रे भन्दै स्थानीयले उक्काए

blog

कालोपत्रे उक्काउँदै स्थानीय उपभोक्ता । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, असार २६ गते । कालोपत्रे गुणस्तरहीन भएको भन्दै मोरङको रङ्गेली –९ दोहमनाका उपभोक्ताले कालोपत्रे उक्काइदिएका छन् । बालुवामाथि प्राइमकोड नलगाइकन सिंधैं अस्फाल्ट बिच्छ्याएको भन्दै वडा ९ का वडाध्यक्ष चुडामणि रेग्मीको अगुवाइमा स्थानीयले कालोपत्रे उक्काइदिएका हुन् । 

सङ्घीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर नवीनकिशोर श्रेष्ठका अनुसार रङ्गेली –९ को दोहमना बजारबाट पूर्व र दक्षिण जाने सडक सङ्घीय शहरी विकास मन्त्रालयले ५९ लाख रुपियाँमा कालोपत्रे गर्नेगरी ठेक्का लगाएको थियो ।  गत माघमा जयशम्भु निर्माण कम्पनी इलामले ठेक्का प्राप्त गरेको सडक ३६० मिटर लम्बाई र २० फिट चौडाईसँगै दुबैतर्फ नाला रहेको छ । 

सम्झौताअनुसार निर्माण कम्पनीले बैशाख अन्तिममा सडक कालोपत्रे गरिसक्नु पर्ने थियो । तर, असार २३ गते राति एकाएक सडक कालोपत्रे गरेपछि स्थानीयले बिरोध जनाएका थिए । सडकका उपभोक्ता स्थानीय हर्कबहादुर तामाङले भन्नुभयो,  ‘कालोपत्रे गर्नुभन्दा सात दिनअघि बालुवामाथि प्राइमकोड लगाएका थिए । 

लगातार पानी परेपछि प्राइम बगायो । हामीले त्यसमाथि कालोपत्रे नहाल्न आग्रह गर्दागर्दै निर्माण कम्पनीले रातारात अस्फाल्ट बिच्छ्याएर कालोपत्रे गर्न थाले । शनिबार गरेको कालोपत्रे सोमबारसम्म पनि बुरुरु देखिएपछि वडाध्यक्षलाई बोलाएर उक्काएको स्थानीयको भनाइ छ । 

अर्का स्थानीय राजु मण्डलले भन्नुभयो, “नालामाथि लगाउने ढक्कनमा समेत १५ सेन्टीमिटरमा रड राखेर निर्माण गर्नुथियो । तर, डेढ फिटमा रड राखेर ढक्कन बनाएका थिए । त्यो सबै नगर प्रमुख दिपीपकुमार अग्रवालले ‘रिजेक्ट’ गरिदिनुभयो ।”

गुणस्तरहिन काम भएको देखेपछि स्थानीयले नगरपालिकामार्फत सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरका इन्जिनीयरलाई खबर गरेका थिए । शनिबार बिहानै बिराटनगरबाट दोहमना पुग्नुभएका सुपरभाइजर बिनोद दासले निर्माण कम्पनीका इन्जिनीयरलाई पुनः प्राइमकोड थप्न सुझाउनुभयो । 

सोहीक्रममा भनाभन हुँदा निर्माण कम्पनीका इन्जिनीयरले सरकारी सुपरभाइजर दासलाई सडकमै हातपात गरेका थिए । सङ्घीय आयोजना कार्यान्वयन इकाई बिराटनगरका प्रमुख गणेशबहादुर महर्जनले कुट्ने ब्यक्तिलाई हाजिर गराउन निर्देशन दिएको बताउनुभयो । 

निर्माण कम्पनीका इन्जिनीयर सम्पर्कमा आएका छैनन् । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सरकारी कर्मचारी कुट्ने निर्माण कम्पनीका इन्जिनियर सुदिपसिंह थापा अझैसम्म सम्पर्कमा आएका छैनन् ।

रङ्गेली नगरपालिका प्रमुख दिलिपकुमार अग्रवालले काम गुणस्तरीय नगरे भुक्तान रोकिने बताउनुभयो । उहाँले नियामक निकायले सुधार गर्न सुझाव दिँदा दिँदै काम अघि बढाएकाले निर्माण कम्पनीले नगरको समन्वयमा काम गर्नुपर्ने बताउनुभयो ।