• २० असोज २०८१, आइतबार

फिदिम–ताप्लेजुङ सडक सुचारु

blog

पेनस्टक राखेर डाइभर्सन गरेर खोलामा बाटो खुलाइएपछि फिदिमबाट ताप्लेजुङ जाँदैगरेका सवारी र ढुवानी साधन । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, असार २५ गते । हेवा खोलामा पेनस्टक पाइप राखेर डाइभर्सन गरिएपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्ड सुचारु भएको छ । सडक डिभिजन कार्यालय इलाम, फिदिम नगरपालिका, जिल्ला प्रहरी कार्यालय पाँचथर र सशस्त्र प्रहरी र स्थानीयको सहकार्यमा सोमवार अपराह्न सडक खुलाएका हुन् ।

असार २ गते आएको बाढीले हेवा खोला पुल बगाएपछि हेवा खोलामा सवारी र ढुवानीका साधन वारपार गर्न सकेका थिएनन् । यसैबीच असार १२, १३ र १८ गते दिउसो तीन पटक ह्युमपाइपमार्फत डाइभर्सन गरेर यातायात सुचारु गराइए पनि राति आएको बाढीले ह्युमपाइप थुनिँदा आवागमन निरन्तर हुन सकेको थिएन ।

पछिल्लो पटक असार १९ गतेदेखि यस खण्डमा सवारी र ढुवानीका साधन आवागमन ठप्प थियो । यसैबीच स्थानीय माउण्टेन हाइड्रोबाट ६ मिटर लम्बाइ, २.६ मिटर गोलाई र १२ एमएम गोलाईका २ थान पेनस्टक पाइप राखेर डाइभर्सन गर्दै सडक खुलाइएको हो । सडक खुलेसँगै एक सातादेखि सडकमा अलपत्र सवारी र ढुवानीका साधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।