• २० असोज २०८१, आइतबार

इलाममा पुरुषको साक्षरता दर बढी

blog

तथ्याङ्क कार्यालय पाँचथरले इलाममा आयोजना गरेको जिल्लास्थित तथ्याङ्क सार्वजनिक कार्यक्रम । तस्तिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, असार २५ गते । पहाडी जिल्ला इलाममा अझै महिलाको साक्षरता दर पुरुषको बराबरी हुन सकेको छैन । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार इलामका दश वटै पालिकामा महिलाको तुलनामा पुरुषको साक्षरता दर बढी पाइएको हो । 

तथ्यांकअनुसार इलामको कुल साक्षरता दर ८३ दशमलव ३७ प्रतिशत रहँदा पुरुषको साक्षरता दर ८८ दशमलव ६६ प्रतिशत र महिलाको ७८ दशमलव १३ प्रतिशत छ । इलाम नगरपलिकामा पुरुषको साक्षरता दर ९१ दशमलव ६८ प्रतिशत र महिलाको ८२ दशमलव ०६ प्रतिशत छ । 

इलामपछि साक्षरता बढी रहेको अर्को पालिका सूर्योदय नगरपालिका हो । सूर्योदयको साक्षरता प्रतिशत ८५ दशमलव २५ प्रतिशत छ । सूर्योदयमा ८९ दशमलव ८२ प्रतिशत पुरुष र ८० दशमलव ७० प्रतिशत महिला साक्षर देखिएका छन् ।

यस्तै, देउमाई नगरपालिकाको साक्षरता दर ८३ दशमलव ३५ प्रतिशत छ । यहाँका ८९ दशमलव ०४ प्रतिशत पुरुष र ७७ दशमलव ८१ प्रतिशत महिला साक्षर छन् । माई नगरपालिकाको साक्षरता दर ७९ दशमलव ५६ प्रतिशत छ । माईमा ८५ दशमलव ५० प्रतिशत पुरुष र महिलाको साक्षरतादर ७३ दशमलव ८३ प्रतिशत छ । 

जनगणनाको तथ्यांकअनुसार गाउँपालिकातर्फ फाकफोकथुम गाउँपालिकाको साक्षरतादर ८२ दशमलव ४४ प्रतिशत छ । फाकफोकथुममा ८८ दशमलव ७२ प्रतिशत पुरुष र ७६ दशमलव २६ प्रतिशत महिला साक्षर छन् । माङ्सेबुङ गाउँपालिकाको साक्षरता दर ८२ दशमलव ०३ प्रतिशत छ । माङ्सेबुङमा ८६ दशमलव ८९ प्रतिशत पुरुष र ७७ दशमलव ०४ प्रतिशत महिला साक्षर छन् । 

चुलाचुली गाउँपालिकाको साक्षरता प्रतिशत ८१ दशमलव २८ छ । चुलाचुलीमा ८६ दशमलव ३८ प्रतिशत पुरुष र ७६ दशमलव ४२ प्रतिशत महिला साक्षर देखिएका छन् । माइजोगमाईको साक्षरता दर ८१ दशमलव ९१ प्रतिशत छ । माइजोगमाईमा ८७ दशमलव ०९ प्रतिशत पुरुष र ७६ दशमलव ५६ प्रतिशत महिला साक्षर पाइएका छन् ।

रोङ गाउँपालिकाको साक्षरता दर ८१ दशमलव ५० प्रतिशत छ । रोङमा ८७ दशमलव ०८ प्रतिशत पुरुष र ७५ दशमलव ९४ प्रतिशत महिला साक्षर छन् । सन्दकपुर गाउँपालिकाको साक्षरता प्रतिशत जम्मा ८१ दशमलव ६९ प्रतिशत छ । सन्दकपुरमा पुरुषको साक्षरता प्रतिशत ८७ दशमलव ९१ प्रतिशत र महिलाको साक्षरता दर ७५ दशमलव २९ प्रतिशत छ । जिल्लामा संस्थागत साक्षरता दर पुरुषको ९६ दशमलव २६ र महिलाको ९० दशमलव ४८ प्रतिशत रहेको जनगणनाको विवरणमा उल्लेख छ ।