• २० असोज २०८१, आइतबार

चुरेफेदी महिला बचत कार्यालयमा ११ दिनदेखि ताला

blog

११ दिनदेखि ताला लागेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, असार २५ गते । उत्तरी मोरङको मिक्लाजुङ –३ टाँढीस्थित चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्था लि.मा लागेको ताला ११ दिन बितिसक्दा पनि खुलेको छैन् । 

गत पुस २२ गते सहकारी संस्थाको सेफ (भल्ट) फोरेर चोरले ३८ लाख रुपियाँ लगेपछि प्रहरीले अनुसन्धानका लागि संस्थाका कर्मचारी मेनुका शिवालाई पक्राउ गरेको थियो । ४३ दिन पुर्पक्षमा बसी ५ लाख रुपियाँ धरौटी तिरेर मेनुका घर फर्किसक्नुभएको छ ।

सञ्चालकले धरौटी कमी भएको भन्दै पुनः उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । उच्च अदालत विराटनगरले थप ८ लाख रुपियाँ धरौटी तोकेपछि मेनुकाकै समूहले गत असार १५ गते कार्यालयमा ताला लगाएको संस्थाका अध्यक्ष मीना कार्कीले बताउनुभयो । 

आर्थिक वर्ष २०७८–७९ को लेखा परीक्षण रिपोर्टमा नै कर्मचारी शिवाको जिम्मामा २९ लाख ५५ हजार १०७ रुपियाँ ६७ पैसा देखिएको थियो । २९ लाख बढी नगद मौज्दात ब्यवस्थापकको जिम्मामा रहँदा बैंकमा भने ४५ हजार ५६४ रुपियाँ मात्र देखिएको थियो । 

संस्थाका अध्यक्ष कार्कीका अनुसार नगद मौज्दातमा देखिएको उक्त रकम शिवाले २०७९ को पुस मसान्तसम्ममा जायजेथा बिक्री गरी तिर्ने सहमति भएको थियो । शिवाको भाकाभन्दा एकसाता अघि नै संस्थाको भल्ट फोरेर चोरले नगद लगेपछि उहाँमाथि थप आशङ्का बढेको सञ्चालक बताउँछन् ।  अघिल्लो आव २०७७–७८ मा ३९ लाख २६ हजार २४५ रुपियाँ १६ पैसा नगद मौज्दात थियो । 

सो रकम पनि शिवाकै जिम्मामा थियो । नजिकै बैंंक नभएकाले पैसा ब्यवस्थापकलाई जिम्मा दिनुपरेको अध्यक्ष मीना कार्कीले बताउनुभयो ।  

२ करोड २४ लाख ९० हजार ७७५ रुपियाँ बचत निक्षेप र २ करोड ५५ लाख ३२ हजार ९३ रुपियाँ ऋण लगानी गरेको सहकारी संस्थामा ९८४ जना महिला बचतकर्ता छन् । संस्थाको जगेडा कोषमा ३३ लाख ९५ हजार ३८७ रुपियाँ छ । ९ लाख ३६ हजार ९४० रुपियाँ अन्य कोषमा छ । ऋण लिएकाहरू संस्था नखुलेदेखि पैसा तिर्नु नपर्नेमा ढुक्क छन् । ऋण नलिएकाहरू थुकतेल गरेर जम्मा गरेको रकम डुब्ला कि भन्ने चिन्तामा छन् ।

संस्थाकी कर्मचारी मेनुका शिवा भने आफूलाई कमजोर र गरिब भएकाका कारण सञ्चालकले फसाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यत्रो पैसा हिनामिना गरेर कहाँ लानु ? शिवाले कानून गरिबलाई मात्र लाग्दोरहेछ” भन्नु्भयो ।  

असार मसान्त आउन साता दिन मात्र बाँकी रहँदासम्म संस्थाको ताला नखुलेपछि सहकारी संस्थाले छाता सङ्घ र नियमनकारी निकायलाई गुहार मागेको छ ।