• १३ असोज २०८१, आइतबार

बिलन्दुको पहिरो जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न पहल

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार २५ गते । पहिरोको जोखिममा रहेको चम्पादेवी गाउँपालिका–८ बिलन्दुको जोखिमयुक्त बस्ती अन्यत्र स्थानान्तरण गर्न पहल गरिएको छ । गत असार ७ गते राती गाउँ माथि बाट आएको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको थियो । 

दर्जन बढी घरहरू पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको उच्च जोखिममा परेको बिलन्दुको बस्ती सुरक्षित स्थानमा सार्न पहल भइरहेको गाउँपालिका अध्यक्ष नवराज केसीले बताउनुभयो । यसका लागि सङ्घ, प्रदेश, जिल्ला प्रशासन र सरोकारवाला निकायमा पहल गरिएको गाउँपालिका अध्यक्ष केसीको भनाइ छ । जोखिमयुक्त बस्तीको भौगोलिक अवस्था परीक्षणका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले बताउनुभयो ।

विलन्दुको पहिरोको जोखिममा रहेको भनिएको बस्तीको अध्ययन गर्न भूगर्भविद् माग गरिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति संयोजक कुमारीले जानकारी दिनुभयो । भूगर्भविद्को अनुगमनपश्चात् बस्ती स्थानान्तरण गर्ने नगर्ने निष्कर्ष निकालिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिलन्दुका करिब चार सय घरहरू पहिरोको जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । यसका साथै पहिरोले स्थानीय पेल्टीसेटको विद्युत् अवरुद्ध भए पछि गाउँपालिकाले उज्यालोका लागि सोलार सेट वितरण गरेको वडा नं.४ का वडा अध्यक्ष इन्द्र केसीले जानकारी दिनुभयो । यूएनएफपीए लगायत विभिन्न सङ्घ संस्थाहरूले स्वास्थ्य र अन्य सामाग्री सहयोग गरेका छन् ।