• २० असोज २०८१, आइतबार

अनाधिकृत रूपमा मल बेच्नेलाई कारवाही

blog

रासायनिक मल । फाइल तस्बिर

कोकिला ढकाल

इलाम, असार २४ गते । इलामको सूर्याेदय नगरपालिका –११ को एक कृषि फार्मलाई रासायनिक मल अनाधिकृत रूपमा बेचेको आरोपमा दुई लाख रुपियाँ जरिवाना गराइएको छ । 

यहाँको भट्टराई कृषि व्यवसाय फार्मलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपियाँ जरिवाना तिराएको हो । फार्मले अनुमति नै नलिई रासायनिक मल बेचेको पाएपछि कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कोइरालाले बताउनुभयो । 

फार्मले राखेको ३२ बोरा मलसमेत प्रशासनले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको मल सूर्याेदय नगरपालिकालाई जिम्मा लगाइएको छ । खेतीको मुख्य सिजनमा मल विक्रीमा गुनासो आएपछि प्रशासनले अनुगमन गरिरहेको छ ।

केही दिनअघि इलाम नगरपालिका –१ साखेजुङको सहकारीबाट अनुदानको सरकारी मल पसलमा ल्याएर बेच्ने इलाम बजारका एक व्यवसायी कारबाहीमा परेका थिए ।