राजकुमार भट्टराई
खोटाङ, असार २४ गते । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैसाङ डाँडालाई चियाको बगानमा परिणत गर्न सुरु गरेको छ । वडा –६ छितापोखरीस्थित मैसाङ डाँडामा रहेको करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले ७ हजार चियाका बिरुवा रोपेको हो ।
सुम्निमा पारुहाङ पार्क रहेको मैसाङ डाँडा हाल आन्तरिक पर्यटकको एक गन्तव्यको रूपमा चिनिन्छ । आगामी दिनमा आन्तरिक पर्यटकको वृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैसाङ डाँडालाई चिया बगान बनाउन सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैसाङ डाँडामा हरेक दिन आन्तरिक पर्यटक घुम्न आउने स्थानीय उत्तम खड्काको भनाइ छ ।
यो वर्ष सात हजार चियाको बिरुवा रोपेको गाउँपालिकाले अन्य वर्ष बिरुवा थप्दै जाने गाउँपालिका अध्यक्ष राईको भनाइ छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बिरुवा रोप्ने खाडल खनिएको थियो । सो खाडलमा गाउँपालिकाबाट चालू आर्थिक वर्षमा विनियोजन भएको ४ लाख बजेटबाट बिरुवा र मल खरिद गरेर रोपिएको अध्यक्ष राईले बताउनुभयो ।
मैसाङ डाँडाको बाँकी रहेको जग्गा व्यक्तिगत रहेकाले गाउँपालिकाले लिजमा लिएर चियाका बिरुवा थप्ने योजना बनाएको छ । सुम्निमा पारुहाङ पार्क अवलोकन गर्न, फोटो खिच्न, टिकटक बनाउन अहिले मैसाङ डाँडामा आन्तरिक पर्यटकहरू जाने गर्छन् ।
केही वर्ष पश्चात् चियाको बगानले आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको विश्वास छ । मैसाङ डाँडालाई पर्यटकीयस्थल निर्माणसँगै चिया खेतीबाट स्थानीयलाई रोजगारी दिने गाउँपालिकाको लक्ष्य रहेको पालिका अध्यक्ष राईले बताउनुभयो ।