• १० जेठ २०८१, बिहिबार

पहिरो पीडितलाई राहत वितरण

blog

पहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २४ गते । नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेश सभाका सदस्य खगेनसिंह हाङ्गामद्वारा पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । असारको पहिलो साता मैवाखोला गाउँपालिकामा गएको पहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।

कांग्रेस जिल्ला कार्यसमिति र प्रदेश सभा सदस्य हाङ्गामको पहलमा सङ्कलन भएको खाद्यान्न सामग्री पहिरो प्रभावितलाई वितरण गरिएको हो । काँग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याहाङ र प्रदेश सभा सदस्य हाङ्गामसहितको टोलीले मैवाखोला गाउँपालिका पुगेर पहिरो प्रभावित एकसय १४ परिवारलाई राहत सामग्री वितरण गरेको छ । 

असार २ गते भीषण वर्षासँगै गएको पहिरोका कारण मैवाखोला गाउँपालिका –४ साँघुको ओदक र ताम्राङका पहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । पीडित परिवारलाई वितरण गरिएको राहत सामग्रीमा चामल २५ किलोग्राम, दाल, नुन तथा चिनी दुई–दुई किलोग्राम र खाने तेल एक लिटरको दर रहेको छ । नुहाउने र लुगा धुने साबुन लगायतका सामग्री पनि वितरण गरिएको काँग्रेस ताप्लेजुङले जनाएको छ ।