• २० असोज २०८१, आइतबार

हत्या गरेको आरोपमा प्रेम पक्राउ

blog

विजयकुमार साह 

ढल्केबर, असार २४ गते । कान्छी आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका –४, पथलैयास्थित अशोक जैसवालको घरभाडामा बस्ने भारतीय ३९ वर्षीया मीरा भगतको हत्या गरेको आरोपमा २० वर्षीय प्रेम भगतलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदबहादुर गौतमले आइतबार घरभित्रै टाउकोमा चोटपटक लागेको तथा शरीरका विभिन्न भाग जलेको अवस्थामा मिराको शव भेटिएको बताउनुभयो । घटनासम्बन्धी अनुसन्धान गर्दै जाँदा प्रेमले नै कान्छी आमा मीराको कुटपिट गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रेमले पहिला काठको चिर्पटले टाउकोमा हिर्काएर घाइते बनाएको र त्यसपछि कपडा तथा सुतलीको बोराले छोपेर जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता गौतमले बताउनुभयो । 

उहाँहरुको घर भारतको बिहार राज्य बेतिया जिल्ला नरकटियागङ्ज थानास्थित केवरियामा रहेको जनाइएको छ । हत्या आरोपी प्रेमका पिता राजु भगतले गाउँकै विवाहित मीरासँग पाँच वर्षअघि दोस्रो विवाह गरेका थिए । 

घरमा खटपट शुरु भएपछि जेठी श्रीमती र जेठीपट्टिका छोराछोरीलाई घरमै छोडेर तीन वर्षअघि राजु नवविवाहिता श्रीमतीलाई लिएर नेपाल छिरेका थिए । नेपालमा उनीहरु गणेशमान चारनाथ नगरपालिकाको मुर्गियामा भाडाको घरमा बसेका थिए । चार महिनाअघि मात्र अशोक जैसवालको घरमा उनीहरु डेरा सरेका थिए । जेठीपट्टिका कान्छो छोरा तथा हत्या आरोपी प्रेम डेढ महिनाअघि मात्रै नेपाल आएर पिता र कान्छी आमासँग बस्न थालेको प्रहरीको भनाइ छ ।