• १९ वैशाख २०८१, बुधबार

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

blog

दुर्घटनामा परेको बोलेरो गाडी । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, असार २३ गते । छुट्टाछुट्टै सडक दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका मोरङको लेटाङबाट कानेपोखरीतर्फ आउँदैगरेको ट्याम्पो र विपरीत दिशातर्फ जाँदैगरेको बोलेरो जङ्गल क्षेत्रमा एकापसमा ठोक्किँदा टेम्पो चालक र ट्याम्पोमा सवार बालिकाको मृत्यु भएको हो ।

यसैगरी कानेपोखरी–रङ्गेली सडक खण्डको शितलचौकमा शुक्रबार राति साढे ११ बजे तीव्र गतिमा कानेपोखरीतर्फ जाँदैगरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मृत्यु हुनेमा प्र १– ०२ –००३ ह १३१२ नम्बरको टेम्पो चालक कानेपोखरी –६, हनुमान चौकका ४२ वर्षीय सागर तामाङ र कानेपोखरी ६ कि ९ वर्षीया रोशनी मगर रहेका छन् । 

तामाङको घटनास्थलमै मृत्यु भएको थियो भने रोशनीको उपचारका लागि अस्पताल लाँदैगर्दा बाटोमै मृत्यु भएको हो । रोशनीको आमा कानेपोखरी –६ मिलन चौककी ३५ वर्षीया टीका मगरको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । 

दक्षिणतर्फ आउँदैगरेको टेम्पो प्र १–०२–००२ च ४१७३ नम्बरको बोलेरोसँग ठोक्किएको थियो । शुक्रबार बिहान लेटाङको फायरलाइनमा सडकमा रुख ढलेको थियो । सडकमा एकतर्फी मात्र गाडी चल्न सक्नेगरी रुख पन्छाएर सडक खोलिएको थियो । 

यता, मोरङको कानेपोखरी –६  रमाइलोबाट कानेपोखरीतर्फ आउँदैगरेको प्र २०१–००३–४९३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झाडीमा पल्टिदा सिराहा लाहान २४ का ३५ वर्षीय सन्तोष भुजेलको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार शुक्रबार राति साढे ११ बजेतिर कानेपोखरी –७ को शितलचौक नजिकै मोटरसाइकल पल्टिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

भुजेलको उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको थियो । भुजेलसँगै मोटरसाइकलमा सवार सोही स्थानका ३४ वर्षीय वीरेन्द्र मगरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।