• २१ वैशाख २०८१, शुक्रबार

‘समयमै न्याय नदिनु न्याय मर्नुसरह हो’

blog

घोराही समाचारदाता

घोराही, असार २३ गते  । सर्वोच्च अदालतका प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले पीडितलाई समयमै न्याय नदिनु न्याय मर्नुसरह भएको बताउनुभएको छ। घोराहीमा दाङ जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधान न्यायाधीश कार्कीले कुनै पनि बहानामा पीडितलाई ढिला न्याय दिनु भनेको न्याय मर्नुसरह भएको बताउनुभएको हो। 

उहाँले कुनै पनि बहानामा न्याय सम्पादनमा ढिलाइ गर्न नहुने बताउनुभयो। मुख्य न्यायाधीश कार्कीले भन्नुभयो, “न्याय सेवा छिटो र छरितो हुनु पर्छ। कुनै पनि बहानामा पीडितलाई न्याय दिन ढिलाइ गर्नु हुँदैन। न्याय दिन ढिलाइ गर्नु भनेको न्याय मर्नुसरह हो।” 

प्रधान न्यायाधीश कार्कीले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्न फरक मुद्दा व्यवस्थापन प्रणाली लागु गरिएको बताउनुभयो। फरक मुद्दा व्यवस्थापन प्रणाली अनुसार मुद्दालाई वर्गीकरण गरेर अदालतमा आउने मुद्दाको सम्पादन गर्ने कार्य भइरहेको भन्दै यसले अदालतमा हुने ढिलासुस्तीलाई हटाउन भूमिका खेलेको बताउनुभएको थियो। 

फरक मुद्दा व्यवस्थापन प्रणाली अनुसार मुद्दालाई तीन प्रकृतिमा बाँडेर सरल प्रकृतिका मुद्दालाई छ महिनाभित्र, सामान्य प्रकृतिका मुद्दालाई एक वर्षभित्र र जटिल वा विशेष प्रकृतिका मुद्दालाई १८ महिनामा टुङ्ग्याउने गरी काम भइरहेको बताउनुभयो। अदालतले दुई वर्ष बढी म्याद नाघेका मुद्दालाई सक्नुपर्ने अभियान चलाएपछि अहिले जिल्लादेखि सर्वोच्च अदालतसम्म अधिकांश मुद्दा टुङ्गिएको भन्दै अब अदालतमा कुनै पनि मुद्दाहरू लामो समयसम्म नरहने बताउनुभएको हो। 

उहाँले भन्नुभयो, “अदालतमा परेका मुद्दामा फैसला गरेर एउटालाई जिताउनुभन्दा दुवै पक्षलाई जित हुने गरी मेलमिलापमा जोड दिनु पर्छ। त्यसका लागि न्यायाधीश र वकिलहरूले पहल गर्नु पर्छ।” 

दाङ जिल्ला अदातलको ८७ कोठे भवनको लागत २५ करोड १९ लाख ८८ हजार नौ सय तीन रुपियाँ २१ पैसा रहेको छ। सुविधासम्पन्न भवनमा दुई वटा लिप्ट, अन्डरग्राउडसहित पाँच तला रहेको छ।