• २१ वैशाख २०८१, शुक्रबार

थामी जातिको कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार

blog

चरीकोट समाचारदाता 

चरीकोट, असार २३ गते । नेपाल थामी समाज दोलखाले थामी समुदायको कर्मकाण्डसम्बन्धी पुस्तक ‘सिलोके पालाखे’ प्रकाशन गरेको छ।कर्मकाण्डको प्रतिनिधि सभा सदस्य गङ्गा कार्की ‘विश्व’, बागमती प्रदेश सभा सदस्यहरू कुन्दनराज काफ्ले, भरत केसी र ठूला थामीले बिगु गाउँपालिका–४, सिँगटीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा विमोचन गर्नुभयो। 

प्रतिनिधि सभा सदस्य कार्कीले थामी जातिको संस्कार संस्कृति जोगाउन आवश्यक भएको भन्दै थामी समुदायको कर्मकाण्ड ‘सिलोके पालाखे’ पुस्तक थामी समुदायका नयाँ पुस्ताका लागि संस्कार संस्कृति बुझाउन र जोगाउन महत्वपूर्ण दस्तावेज बन्ने बताउनुभयो। प्रदेश सभा सदस्य काफ्लेले संस्कार संस्कृति संरक्षणका लागि कर्मकाण्डले सहयोग पुग्ने भन्दै मौलिक संस्कृति जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो। 

दोलखाको बिगु गाउँपालिकाको आर्थिक सहयोगमा प्रकाशित झन्डै सात सय पृष्ठको कर्मकाण्ड पुस्तक ‘सिलोके पालाखे’ मा थामी समुदायको कुलपूजा, भुमेपूजा, जन्म, विवाह, मृत्यु संस्कारलगायतका सांस्कृतिक विषय समावेश गरिएको पुस्तकका सङ्कलक एवं सम्पादक लक्ष्मण थामीले बताउनुभयो। 

दोलखा जिल्ला उद्गम थलो रहेको थामी समुदायका नागरिक अहिले देशका ३२ जिल्लामा बसोबास गर्दै आएको नेपाल थामी समाज दोलखाका अध्यक्ष होमबहादुर थामीले बताउनुभयो। थामी समुदायको जनसङ्ख्या २०७८ सालको जनगणनामा ३२ हजार ७४३ पुगेको छ। बिगु गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल थामी समाज दोलखाले कर्मकाण्ड ‘सिलोके पालाखे’ तयार पारेको हो।