• २० असोज २०८१, आइतबार

कालोपत्रे गरेको एक साता नबित्दै भत्कियो सडक

blog

भत्केको कालोपत्रेको ठाउँमा पुनः कालोपत्रे गरिँदै ।

विष्णुप्रसाद पोखरेल

दमक, असार २२ गते । वर्षातको समयमा हतारहतार कालोपत्रे गरिएको सडक हप्तादिन बित्न नपाउँदै भत्किन थालेको छ । झापाको कमल गाउँपालिका वडा न ७ को बाह्रघरे, रङ्गपुर हुँदै गुहावारीतर्फ जोड्ने सडक कालोपत्रे भएको एक सातामा नै कतिपय ठाउँमा भत्किन थालेको हो ।

करिब १८ करोड लागतमा १३ किलोमिटर कालोपत्र सडक बन्नुपर्ने हो । सडकको ठाउँ ठाउँमा कालोपत्रेका भागहरु भत्किन थालेपछि आफूहरुले सम्बन्धित निकायलाई ध्यानकर्षण गराउँदा पनि बेवास्ता भएको स्थानीय विदुर गिरीले बताउनुयो ।

गुणस्तरहीन सामग्रीको प्रयोग गरी रातको समयमा कालोपत्रे गरिएको स्थानीयहरुको आरोप छ । लामो समयसम्म सडक बनाउन तदारुकता नदेखाएको र असारमध्येमा पानी परिरहेको अवस्थामा रातारात कालोपत्रे गर्ने कार्य नै शङ्कास्पद छ, स्थानीय श्याम पौड्यालले भन्नुभयो ।

कमल गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष पृथ्वीपति राईले कालोपत्रेमा कमजोरी भएको पाइएको बताउनुभयो । “हामीले तत्कालै सुधार गर्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छौं र भत्केको ठाउँमा तत्कालै नयाँ कालोपत्रेको काम हुन्छ”, उहाँले भन्नुभयो । 

गीताञ्जली एण्ड जिएनजे कन्ट्रक्सनले ४ किलोमिटर सडक कालोपत्रे गरिसकेको र यसमा दुई स्थानमा सानो समस्या देखिएको तर त्यस्तो ठुलो समस्या नरहेको सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी गौतमकुमार देवले बताउनुभयो । उहाँका अनुसार सामान्य झरीमा कालोपत्रे गर्दा समस्या नहुने उहाँको दाबी छ ।