• २० असोज २०८१, आइतबार

कृषिको दिगोपनका लागि कार्यक्रम

blog

गाईघाट समाचारदाता

गाईघाट, असार २२ गते । त्रियुगा नगरपालिका–१५ को बाझो जमिनमा घाँस खेती कार्यक्रम सुरु गरिएको छ । दक्ष जनशक्ति र युवा रोजगारका लागि विदेश पलायन भएसँगै त्यस क्षेत्रमा धेरै जमिन बाँझो रहेकाले पशुपालन गर्ने किसानलाई लक्षित गरी त्यस्तो जमिनमा घाँस खेती सुरु गरिएको हो । 

डिभिजन वन कार्यालय गाईघाटसँगको सहकार्यमा मानव अधिकार तथा विकास केन्द्र नामक गैरसरकारी संस्थाको सक्रियतामा सञ्चालित नेपाल एकीकृत ग्रामीण विकास परियोजना अन्तर्गत समूहमार्फत बाझो जग्गामा घाँसलगायत विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको संस्थाका अध्यक्ष शङ्करबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले भोक, गरिबी र रोगविरुद्ध दिगो समाधान खोज्न र स्वस्थकर वातावरण निर्माण गर्ने लक्ष्यका साथ समूह परिचालन गरी वृक्षरोपण गरेको हो । वडा नं. १५ का १० वटा समूहका दुई सय सात घरधुरीलाई कृषिको दिगोपनका लागि विभिन्न १३ प्रजातिका एक हजार घाँसका बिरुवा रोपेको संस्थाका कार्यक्रम संयोजक बिनु सुवेदीले बताउनुभयो ।

डाले तथा भुइँ घाँस, अमला, हर्रो, बर्रो, बकाइनो, अम्बा, रिट्ठालगायतका कोसे र कोसा नलाग्ने बिरुवाका साथै कार्यक्षेत्रका अन्य ठाउँमा गरी बुधबार दुई हजार पाँच सय बिरुवा रोपिएको उहाँको भनाइ छ । सो अवसरमा बाँझो जमिनमा बिरुवा रोपण कार्यक्रम शुभारम्भ गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतले आफ्नो जमिन बाँझो राख्ने र विदेश गएर तल्लोस्तरको काम गर्ने परम्पराले नेपाली समाज बिग्रँदै गएको बताउनुभयो । 

नगर प्रमुख बस्नेतले विदेशको मेहनत स्वदेशमै गरे सुन फलाउन सकिन्छ भन्नुभयो । काम गरेर खान खोज्ने किसानका लागि स्वदेशमै प्रशस्त ठाउँ भएकाले त्यस्ता ठाउँमा कृषिजन्य वस्तु जे सुकै उत्पादन गरे पनि बजारको अभाव नहुने हुँदा नगरपालिकाले पनि कृषिमा आत्मनिर्भर बनाउने गरी साझेदार संस्थामार्फत काम अघि बढाइरहेको छ भन्नुभयो ।

स्वास्थ्य, शिक्षासँगै पर्यावरण क्षेत्रमा समेत नगरपालिकाले रणनीतिक योजना बनाउन लागेको लागेको भन्दै नगर प्रमुख बस्नेतले खाबु, साउने क्षेत्र विशेष गरी अदुवा, बेसार, अम्लिसोको पकेट क्षेत्र बनाउने र यस क्षेत्रमा उत्पादित वस्तुलाई कृषि एम्बुलेन्समार्फत बजारसम्म पु¥याउने तयारी नगरपालिकाले गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले वातावरण सुहाउँदो बिरुवा रोप्न सके मात्र त्यसले प्रतिफल दिने बताउनुभयो । खाबु क्षेत्र सामाजिक, आर्थिक र वातावरणीय हिसाबले उपयुक्त ठाउँ भएकाले वातावरणमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।