• २० असोज २०८१, आइतबार

चिया उद्योगलाई ट्रेडमार्क वितरण

blog

धनकुटा समाचारदाता

धनकुटा, असार २२ गते । अर्थोडक्स चियाको क्षेत्रमा जिल्लाबाहिरका छ वटा उद्योगलाई धनकुटामा ट्रेडमार्क वितरण गरिएको छ । टे«डमार्क पाउने उद्योगमा भोजपुर जिल्लास्थित गरस चिया उद्योग, इलाम जिल्लास्थित सिल्भर माउन्टेन टी इन्डस्ट्रिज प्रालि, फार्मर टी प्रोसेसिङ इन्डस्ट्रिज, सिद्धदेवी टी स्टेट प्रालि, नोर्लिग स्पेसियालिटी टी प्रालि, ला मण्डला स्पेसियालिटी टी रहेका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड केन्द्रीय कार्यालय काठमाडौँको आयोजनामा धनकुटामा अर्थोडक्स चिया ट्रेडमार्क कार्यान्वयनसम्बन्धी सम्पन्न अभिमुखीकरण कार्यक्रमको अवसर पारेर चिया उद्योगलाई ट्रेडमार्क इजाजत प्रमाणपत्र वितरण गरिएको हो ।    

२०७५ सालबाट हालसम्म २९ वटा उद्योगले ट्रेडमार्क पाउँदासम्म धनकुटा जिल्लाका कुनै पनि उद्योग, चिया किसानको ट्रेडमार्कका लागि आवेदनसमेत नपरेको हुँदा अन्य जिल्लाका चिया उद्यमीलाई धनकुटा जिल्लामा बोलाएर ट्रेडमार्क प्रमाणपत्र वितरण गरी धनकुटाका चिया किसानलाई सचेत गराएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुप्रसाद भट्टराईले अभिमुखीकरण समापनका अवसरमा जानकारी दिनुभयो ।

‘नेपाल टी क्वालिटी फ्रम दी हिमालयज’  

नेपाली अर्थोडक्स चियाको आफ्नै ट्रेडमार्क लोगो कार्यान्वयनमा आएसँगै नेपाली चिया रोपिएको १५७ वर्षपछि बल्ल चिया तथा कफी विकास बोर्डले चियाको लोगो औपचारिक रूपमा कार्यान्वयन गरी ट्रेडमार्क ल्याएको हो । नेपाली चिया बजारमा पठाउँदा अबदेखि नेपाल टी क्वालिटी फ्रम दी हिमालयज नामको नेपाली लोगो टाँस गर्न यति बेला सहज भएको छ । अन्तर्राष्ट्रिय बजारमा जाने गरी कार्यान्वयन गरिएको लोगो चिया क्षेत्रमा नयाँ फड्को भएको चिया किसान बताउँछन् ।

पहिलो चरणमा देशका १२ उद्योगले लोगो प्रयोग गर्न पाएका थिए । नेपाली अर्थोडक्स कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेको मापदण्ड पूरा गरेका उद्योगलाई मात्र लोगो हस्तान्तरण गरिएको बोर्डका कार्यकारी निर्देशक डा. भट्टराईले बताउनुभयो । 

उहाँका अनुसार यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासा हुने देशमा पनि दर्ता गराउन भने अनिवार्य छ । बोर्डले यसअघि विदेशमा पनि आफ्नो लोगो दर्ता गराएर उत्पादित वस्तु निर्यातको अनुमति लिने प्रक्रिया भने निकै झन्झटिलो र खर्चिलो रहेको छ । 

देशभरका पाँच हजारभन्दा बढी किसान आबद्ध २९ वटा उद्योगले ट्रेडमार्क पाइसकेको अवस्थामा ऐतिहासिक रूपमा चियाको क्षेत्रमा स्थापित धनकुटा जिल्लाका किसानले ट्रेडमार्कका लागि कुनै पहल नगर्नु विडम्बना रहेको बताउँदै धनकुटाका किसान चियामा विस्थापित भएर या अन्य पेसामा लागेको हो कि भन्ने आशङ्का रहेको बोर्डका कार्यकारी निर्देशक डा. भट्टराईले बताउनुभयो ।  

चियाको परिमाण बोर्डलाई देखाउन कुन व्यवसायीले कति चिया निकासी गरे भन्ने सबै तथ्याङ्क बोर्डमा रहने बोर्डको निर्देशिकाले लोगो कार्यान्वयनपछि ट्रेडमार्क इजाजतपत्र वितरण गरिएको बोर्डले जनाएको छ । 

यदि निर्देशिकामा भएका विषय र आचारसंहितालाई उल्लङ्घन गरे दिएको लोगो खोस्न पनि सकिने भएकाले बगान र उद्योगमा पनि गुणस्तरीय चिया प्रशोधन तथा उत्पादन र प्याकेजिङको पनि कडाइका साथ अनुगमन हुने उहाँले जानकारी दिनुभयो । लोगो प्रयोग गरेबापत व्यवसायीले प्रतिकिलो ५० पैसा कर जम्मा गर्नुपर्ने छ । जर्मनी, रुस, अस्ट्रेलियालगायतका देशमा नेपाली चिया जाने गरेको छ । लोगो कार्यान्वयनमा आउँदा नेपाली चियाले बल्ल आफ्नो पहिचान पाएकामा खुसी लागेको ट्रेडमार्क पाउने ‘ला मण्डला स्पोसियालिटी टी’ का निर्देशक उषा सुब्बाले बताउनुभयो ।

इलाम, झापा, पाँचथर, भोजपुर, धनकुटालगायत १४ जिल्लामा आठ हेक्टरमा चिया खेती हुँदै आएको चिया तथा कफी विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ ।